बिर्तामोड / नेपालमा कोरोनाको नयाँ प्रजाति पुष्टि भएको छ । नेपालबाट अध्ययन गर्न पठाइएका ४७ वटा कोरोनाको डेल्टा प्रजातिका नमूना मध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सरकारले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा भारतको नयाँ दिल्लीमा रहेको इन्स्टिच्यूट अफ जीनमिक्स एन्ड इन्टिग्रेटिभ बायोलजीमा अध्ययनका लागि नमुनाहरू पठाएको थियो।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई .१ नाम पनि दिइएको छ । हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले बताएका छन् । 

यससँगै नेपालमा भेरियन्ट अफ कन्सर्नूका रूपमा अल्फा (B.1.1.7) र डेल्टा  (B.1.617.2)  भेरिअन्ट तथा भेटिअन्ट अफ इन्ट्रेष्टका रूपमा कापा भेरिअन्ट (B.1.617.1) पुष्टि भएको छ। यी तीनैवटा भेरिअन्टहरू उच्च सङ्क्रामक र सबै उमेर समूहमा प्रभाव पार्ने देखिएको मन्त्रालयले जनाएको छ।

प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नेपालमा कोभिड महामारीको दोस्रो लहर डेल्टा भेरियन्टको कारण देखिएको तर अहिले त्यो घट्दो क्रममा रहे पनि जनस्वास्थ्य मापदण्ड पूरा गर्दै सचेत हुन आवश्यक रहेको बताएका छन्।

वैशाख २६ देखि जेठ २० सम्मका नमुना भएकाले यो भेरियन्टमा हामीसामु अझै छ यसबाट हामी सजग भइरहन आवश्यक छ भन्ने जानकारी दिन खोजिएको हो, उनले भने।

जनस्वास्थ्य सम्बन्धी उल्लेख्य समस्या सिर्जना गराउने कोरोना भाइरसको प्रकारलाई भेरिअन्ट अफ कन्सर्न भनिने एवं अन्य प्रकारभन्दा फरक देखिँदा त्यसबारे थप चासोका रूपमा हेर्नुपर्ने भाइरसलाई भेरिअन्ट अफ इन्ट्रेष्टका रूपमा बुझ्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन्।

दोस्रो लहरका बीचमा यसअघि गरिएको आनुवंशिक संरचनाको एउटा अध्ययनमा ३६ मध्ये ३५ नमूनामा डेल्टा भेरिअन्ट पाइएको थियो । तर त्यस बेला के४१७एन उत्परिवर्तन भने देखिएको थिएन।