बिर्तामोड / झापाको शिवसतासीमा गाउँपालिकाले कृषकको निःशुल्क पशु बीमा गरिदिएको छ । शिवसतासी नगरपालिका –६ ले वडाका १६० परिवारको निःशुल्क पशु बीमा गरिदिएको हो । 

वडाध्यक्ष मनोज कार्कीले व्यावसायिक पशुपालनबाट आयआर्जन वृद्धि गराउन सहयोग पु¥याउने उद्देश्यले पशुको बीमा गर्ने अभियान चलाइएको बताए ।

OM Sai Pathibhara Hospital

उनका अनुसार ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू भएको छ । किसानले पालेको गाई, भैँसी, बाख्रा, बङ्गुर लगायतका निःशुल्क पशुको बीमा गरिरहेको र बीमा गरेबापतको सबै रकम बीमा कम्पनीलाई वडाले भुक्तानी दिने उनले बताए ।

वडाको अधिकांश किसानका घरमा उन्नत जातका गाई छन् । चन्द्र डाँगी बीउबिजन केन्द्रमा केही वर्षपहिले नश्ल सुधारका लागि राखिएको बीउ साँढेका कारण बस्तीमा उन्नत जातका गाईपालन फस्टाएको उनले बताए । कम्पनीका अभिकर्ता लक्ष्मीप्रसाद नेपालले शुरुमा किसानले नबुझेर बीमा गर्न नमाने पनि अहिले आफैँ फोन गरेर उनीहरूले बोलाउने गरेको बताए । 

उनका अनुसार बजारमा रु ९५ हजारसम्म पर्ने गाईको रु ७५ बजारसम्मको बीमा गर्ने गरिएको छ । स्थानीय किसान शर्मिलाले विकले भने, “न आफूले कुनै बीमाबापतको रकम नै तिर्नुपर्‍यो न अब बस्तु मरे भने ऋणमा डुबिन्छ भनेर चिन्ता नै गर्नुपर्‍यो, ढुक्क भइयो ।” यसबाट किसानलाई राहत मिलेको उनको भनाई छ ।

बीमा एनएलजी कम्पनीले गरिरहेको छ । पशुको स्वास्थ्य परीक्षणसमेत निःशुल्क स्थानीय पशु प्राविधिक प्रेमबहादुर पौडेलले गरिरहेको वडा कार्यालयले जनाएको छ । वडाले आह्वान गरेको सूचना र किसानले दिएको निवेदनका आधारमा किसानले पालेका पशुको बीमा गरिएको हो । आगामी वर्ष पनि किसानलाई हौसला र उत्साह प्रदान गर्न कार्यक्रमलाई निरन्तरता दिने वडाध्यक्ष कार्कीको भनाइ छ ।

वडाध्यक्ष आफैँ पशु बीमाका लागि बीमा कम्पनीका अभिकर्तालाई लिएर किसानको गोठगोठमा पुग्ने गर्नुभएको छ । पशु बीमा गरेपछि एक वर्षभित्र पशु दुर्घटना तथा रोग लागेर मरेमा बीमाङ्कको ९० प्रतिशत रकम कम्पनीले किसानका घरमै पुगेर भुक्तानी दिनेछ ।

पशुपालनको जोखिम घटाउन, किसानलाई पशुपालनतर्फ प्रोत्साहन गर्न, नश्ल सुधार गर्न, वडालाई दूध, दही तथा घ्यूमा आत्मनिर्भर बनाउनका लागि वडामा बीमा कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

पशु बीमा गर्दा बीमा कम्पनीले सिरियल नम्बरसहितको ट्याग पशुका कानमा लगाइदिन्छन् । बीमा दाबी भुक्तानी लिन किसानले पशु मरेको बारे तीन दिनभित्र कम्पनीमा जानकारी दिनुपर्ने कानूनी व्यवस्था छ । मरेको पशु गाडेको वा जलाएको प्रमाणसहित पशु प्राविधिकको सिफारिसपत्र कम्पनीमा पेश गरेपछि कम्पनीले दावी भुक्तानी दिने व्यवस्था छ ।