मोरङ / मोरङमा लागूऔषध गाँज ओसार पसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिक सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी देवानगन्ज –१ का ४० वर्षीय उमेश यादव, धनकुटा सहिदभुमि गाउँपालिका १ का ३२ बर्षीय रुद्र राई र धरान उपमहानगरपालिका १३ स्थित सुम्निमा चोकका ४५ वर्षीय सुर्य राई रहेका छन् ।
यसैगरी भारतीय नागरिक भारत अररिया फार्बिजगन्जका १९ बर्षीय सोनु कुमार यादव, अररिया पिर्पाघाट विशनपुर का २८ बर्षीय जयराम यादव र अररिया नरपथगन्ज सोनापुर का ३० वर्षीय रनजित भन्ने प्रिन्स विचितर कुमार रहेका छन् ।
उनीहरूलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट नेपाली नगद ७ लाख १६ हजार ६ सय रुपैयाँ, भारतीय नगद रु २ हजार र विभिन्न कम्पनीको मोबाइल थान – ६ बरामद गरेको छ ।
प्रहरीले थप अनुसन्धान गर्ने क्रममा लागूऔषध गाँजा ओसार पसारमा प्रयोग गरेको को १च २४१२ नम्बरको मारुती भेन र उनीहरूले विराटनगर महानगरपालिका ६ रामपुर स्थित झाडीमा लुकाई छिपाई राखेको १८ केजी गाँजा समेत फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका मध्ये सूर्य राई भेन चालक रहेको खुल्न आएको छ ।
पक्राउ परेका ६ जना माथि लागूऔषध कसूरमा थप अनुसन्धान कार्य भई रहेको सो कार्यालयले जनाएको छ ।