बाँके /  कोरोना भाइरस महामारी संक्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ । यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन् । 

कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

उनका अनुसार बाँकेमा कोरोना संक्रमणदर घट्दै गएपछि अस्पतालमा कोराना बिरामीका लागि छुट्याइएको शय्या खाली हुँदै गएका छन् । बाँकेका कोभिड अस्पतालका ३६१ ओटा कोभिड शय्यामध्ये ७४ जना मात्र उपचाररत छन् भने ८० प्रतिशत शय्या खाली भएका छन् । 

बाँकेका साना–ठूला चार अस्पतालले कोभिड कक्षका लागि छुट्याएका ३६१ शय्यामध्ये २७१ शय्या खाली भएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको २०० शय्यामा १२५ शय्या खाली भएको छ । 

भेरी अस्पतालमा उपचाररत ६० जना बिरामीमध्ये १८ जना सिकिस्त छन् । कोहलपुरस्थित शिक्षण अस्पतालमा कोभिड वार्डका १३० शय्या छुट्याइएकोमा ११६ ओटा खाली छन् । 

उक्त अस्पतालमा उपचाररत १४ जना बिरामीमध्ये आठ सिकिस्त रहेको स्रोत व्यक्ति वलीले बताए । वेष्टर्न अस्पतालमा १६ शय्यामा १५ ओेटा शय्या खाली भएको छ । 

युनाइटेड अस्पतालमा १५ शय्या छुट्याइएकोमा सबै खाली भएको छ । बाँकेमा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका ३४७ र जिल्लाकै ३१० गरी ६५७ जनाको मृत्यु भएको छ । रासस