विराटनगर / सरकारसँगको सम्झौता अनुसार कोरोना सङ्क्रमितको सरकारी खर्चमा नै उपचार गर्दै आएको विराटनगरको विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले बिरामीसँग दोहोरो र चर्को शुल्क लिएको पाइएपछि स्थानीय प्रशासनले कारवाही प्रकृया अघि बढाएको छ ।

सरकारसँग भएको सम्झौता विपरित उपचार शुल्क लिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा परेको उजुरीको छानविन गर्दै कार्यालयले शुल्क फिर्ता गर्न कलेजलाई निर्देशन समेत दिएको छ ।

सुनसरीको इनरुवा –२ का कोरोना संक्रमित रामजी महतोको उपचारका क्रममा छ लाख खर्च भएको भन्दै कलेजले बिल दिएपछि यो विषय स्थानीय प्रशासनमा पुगेको थियो । मत्यु पछि उनको परिवारलाई करिव छ लाख रुपैयाँ तिर्न भन्दै कलेजले बिल दिएपछि आफन्तले अस्पतालको शुल्क माथि आशंका गर्दै जिल्ला प्रशासन मोरङमा उजुरी दिएका थिए ।

उजुरी परेपछि गरेको छानविनमा चर्को अनि अस्वभाविक शुल्क लिएको पाइएपछि जिल्ला प्रशासन कार्यालयले बिल अप्रत्याशित देखिएको भन्दै कलेजलाई लिखित रुपमा शुल्क फिर्ता गर्न निर्देशन दिएको हो ।  

उजुरीका विषयमा निर्णय गर्दै प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले उपचार शुल्क अस्वभाविक रहेको भन्दै तत्काल शुल्क फिर्ता गरि जानकारी गराउन कलेजलाई लिखित रुपमा  निर्देशन दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले सरकारसँग पनि पैसा लिने अनि बिरामीसँग पनि चर्को अस्वभाविक शुल्क लिने कलेजले लिएको रकम फिर्ता नगरे थप कारवाही गरिने जनाएको छ । उपचारका क्रममा लिएको शुल्क अस्वभाविक लागे उजुरी गर्न पनि स्थानीय प्रकाशनले सर्वसाधारणलाई आग्रह गरेको छ ।