बिर्तामोड / सरकारले विराटनगरका तिन अस्पताल सहित देशका २२ अस्पताललाई विदेश भ्रमणका लागि पिसीआर रिपोर्टलाई मान्यता दिएको छ । विदेश जानेलाई पिसीआर परिक्षण गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी पिसीआर प्रयोगशाला र २२ निजी अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो ।
मन्त्रालयका अनुसार नोवेल मेडिकल कलेज विराटनगर, न्यूरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर रहेका छन् ।
यस्तै, ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी, वी एण्ड वी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, नेशनल मेडिकल कलेज, युर्निभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल, काठमाडौँ युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल, लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरलाई मान्यता दिएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा। समिर कुमार अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार सरकारी अस्पतालका प्रयोगशालाको साथसाथै निजी अस्पतालमा गराएको पिसिआर परीक्षणको रिपोर्टलाई समेत विदेश जानका लागि मान्यता दिने निर्णय गरेको जानकारी दिएका छन् । सहप्रवक्ता अधिकारीले प्रक्रिया पुर्याएका अरु निजी अस्पताललाई पनि क्रमशः मान्यता दिने बताएका छन् ।






































