काठमाडौं / ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत बिरामीको मृत्यु भएपछी श्रीमतीले अस्पतालमै आत्महत्या गरेकी छन् ।
म्याग्दीको मालिका गाउँपालिका –५ का ४५ वर्षीय पुरुषको मृत्युपछि कुरुवा बसेकी उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेको ललितपुरकी प्रहरी उपरीक्षक किरण बज्रचार्यले जानकारी दिइन् ।
श्रीमानको राति नै मृत्यु भएको र त्यसपछि उनले आत्महत्या गरेको अस्पतालको भनाइ छ । शुक्रबार बिहान बाथरुम नखुलेपछि अस्पतालका कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए ।
क्यान्सरबाट पीडित श्रीमानलाई किमोथेरापी गराउन उनले अगाडि काठमाडौं ल्याएकी रहिछन्, एसपी बज्रचार्यले भनिन्, ‘तर उपचारको क्रममा बिहीबार राति मृत्यु भएपछि अस्पतालकै बाथरुमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा उनको शव शुक्रबार बिहान फेला परेको हो ।’
घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बज्रचार्यले बताएकी छिन् ।