धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भ्रष्टाचार र बेथिति भएको भन्दै सुरु भएको आन्दोलनमा चिकित्सक , कर्मचारी र विद्यार्थीले समेत साथ दिएका छन् ।

प्रतिष्ठानका चिकित्सक एवं फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष समेत रहेका डा. विष्णु पोखरेललाई भ्रष्टाचारको विषय उठाएको भन्दै उपकुलपतिले कारवाही प्रकृया अघि बढाएपछि चिकित्सक , कर्मचारी र विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । वीपी भित्रको वेथिती र भ्रष्टाचारको विषयलाई लिएर नागरीक संजाल समेत अहिले आन्दोलनमा नै रहेको छ ।  

OM Sai Pathibhara Hospital

प्रतिष्ठान भित्रको बेथिति र भ्रष्टाचारको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई म्यासेज गरेको विषय सार्वजनिक भएपछि पोखरेललाई प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले गत आईतवार स्पष्टीकरण सोधेका थिए ।

प्रतिष्ठानको वेथिती र अनियमितताबारे डा.पोख्रेलले अख्तियार प्रमुखलाई एसएमएस गर्दै अरुलाई पनि एसएमएस गर्न सामाजिक संजाल मार्फत अपिल गरेका थिए ।

उपकुलपति गिरीले स्पष्टिकरण सोधेको विरोधमा मंगलबार बिहान उपकुलपति कार्यालयअघि फ्याकल्टी, जेआर र विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले २४ घण्टाभित्र स्पष्टीकरण फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।

फ्याकल्टी वेल्फेयर सोसाइटीका महासचिव डा. एसपी रिजालले सम्वन्धित चिकित्सकले स्पष्टिकरण नपाउँदै मिडियामा लाने काम गरेको भन्दै सो विषयमा समेत स्पष्ट पार्न माग गरेका छन् ।

आन्दोलनमा उत्रिएका उनीहरुले प्रतिष्ठान भित्रका वेथिति र भ्रष्टाचारको विषयमा छानविन हुनु पर्ने र दोषी उपर कारवाही हुनुपर्ने माग समेत गरेका छन् ।