काठमाण्डौ / कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारलाई अनुदानमा प्राप्त भएका स्वास्थ्य सामाग्री मध्ये महँगो मूल्यका सामाग्री स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागबाटै गायब भएका छन् ।

कोरोनाको दोस्रो लहरको चपेटामा परेको नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि दातृ मुलुक , गैरसरकारी संस्था र प्रवासी नेपाली सहित नेपाली व्यवसायी र उद्योगीले स्वास्थ्य सामाग्री सहयोग गरेका थिए । सरकारलाई प्राप्त भएका स्वास्थ्य सामाग्री वितरणको जिम्मेवारी बोकेको मन्त्रालय मातहतको विभागबाटै गायब भएको हो ।

OM Sai Pathibhara Hospital

स्वास्थ्य मन्त्रालयका अधिकारीले अनुदानमा प्राप्त सामाग्री नै मिलेमतोमा गायब बनाउने विभागका कर्मचारीले सरकारले खरिद गरेका सामाग्री समेत गायब बनाएको हुन सक्ने बताएका छन् । गुप्तचर खबरसँगको कुराकानीमा ति अधिकारीले अनुदानमा प्राप्त भएका र खरिद गरिएका सामाग्रीका विषयमा छानविन गर्न पनि माग गरेका छन् ।

सामाग्री मिलेमतोमा गायब बनाएको विषय सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयको निर्देशनमा स्वास्थ्य सेवा विभागले छानविन अघि बढाएको छ । अक्सिजन कन्सन्ट्रेटर देखि भेन्टिलेटर र अक्सिजन सिलिण्डर सम्म गायब भएको विषय सार्वजनिक भएपछि विभागले छानविन अघि बढाएको हो ।  

विभागको स्वास्थ्य सामाग्री वितरणको सूचि र सामाग्री प्राप्त गर्ने संस्था बिचको तथ्याङकमा फरक पाईएपछि यो विषय सार्वजनिक भएको हो । सार्वजनिक भएको तथ्याङक अनुसार सरकारलाई अनुदानमा प्राप्त भएका अक्सिजनका ६ सय ६२ वटा सिलिण्डर समेत गायब भएको पाईएको छ । काठमाण्डौका अस्पताल र स्वास्थ्य संस्थालाई दिईएको भनिएका सामाग्री समेत ति अस्पतालमा नपुगेको पाईएको छ ।

तर उता स्वास्थ्य सेवा विभागले भने अनुदानमा पाएका कुनै पनि स्वास्थ्य सामग्री नहराएको दावी गर्दै आएको छ । अनुदानमा पाएका स्वास्थ्य सामाग्री हराएको विषय आएपछि सो विषयलाई ढाकछोप गर्न विभागले दुई पटक वितरित सामाग्रीको सूचि सार्वजनिक गरेर मिलाउने कोशिस गरिरहेको छ ।

विभागले जारी गरेको पहिलो सूचनामा वैशाख १ गतेदेखि २४ जेठसम्म विभागबाट ५ हजार ५ सय ८ थान अक्सिजन सिलिन्डर वितरण भएको उल्लेख छ । तर विभागले नै दोस्रो पटक निकालेको सूचनामा ५ हजार ५ सय ४३ वटा अक्सिजन सिलिण्डर वितरण भएको उल्लेख छ ।

विभागकै तथ्याङकलाई आधार मान्ने हो भने पनि अनुदानबाट प्राप्त १ सय ६४ वटा अक्सिजन कन्सर्नट्रेटर समेत हराएको देखिन्छ । देशभरका अस्पतालमा ९ सय ७० वटा कन्सर्नट्रेटर वितरण भएको विभागको तथ्याङकमा उल्लेख छ तर विभागलाई १ हजार १ सय ३४ थान अक्सिजन कन्सर्नटे«टर अनुदानमा प्राप्त भएको छ ।  

हालसम्म सरकारलाई विभिन्न १ करोड ५२ लाख ४२ हजार ४ सय ८६ थान स्वास्थ्य सामग्री अनुदानमा उपलब्ध भएको छ । १२ लाख ६५ हजार २५ वटा एन्टिजेन किट, १ हजार १६४ वटा अक्सिजन कन्सर्नट्रेटर, १ हजार वटा अक्सिजन नेसनल क्यानुला, ४ हजार १ सय वटा पल्स अक्सिमिटर, ९५ वटा भेन्टिलेटर, ६ हजार २४५ वटा अक्सिजन सिलिन्डर ९लिक्विड अक्सिजन सिलिन्डर १५० वटा सहित०, २ वटा आरएनए एक्सट्राक्सन मेसिन लगायतका स्वास्थ्य सामाग्री सरकारलाई अनुदानमा प्राप्त भएको छ ।

त्यसैगरि ९ लाख ३२ हजार ५ सय वटा पञ्जा, १ लाख २४ हजार २ सय वटा फेस सिल्ड, ११ लाख ८७ हजार ८ सय ४० वटा मास्क ९एन ९५, सर्जिकल मास्क लगायत०, ५ हजार ६ सय वटा संक्रमितको मृत्युमा प्रयोग गरिने झोला र १ लाख ८० हजार वटा पिपिइ सरकारलाई अनुदानमा प्राप्त भएको छ ।

सरकारलाई अनुदानमा प्राप्त भएका स्वास्थ्य सामाग्री हराएको विषयमा भने विभागको हालसम्म ठोस प्रतिक्रिया सार्वजनिक भएको छैन । विभागका प्रवक्ता महेश पाण्डेले वितरण भएका स्वास्थ्य सामाग्री पुग्न समय लागेको दावी गरेका छन् । उनले यो विषयमा विभागले छानविन थालेको बताएका छन् ।