काठमाडौँ / भारतले नेपाली सेनालाई कोभिड –१९ सङ्क्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय सेनाद्वारा सहयोगस्वरुप उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार नेपाली सेनालाई भेन्टिलेटर, आइसियु श्यया, पिपिई सेट र एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्री प्राप्त भएको छ । सो अवसरमा प्रधानसेनापति थापाले राजदूत क्वात्रालाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।