बिर्तामोड / भारतबाट नेपाल तर्फ आएका दुई व्यक्त स्रोत नखुलेको ३० लाख रुपैयाँसहित पक्राउ परेका छन् । भारतको बिहार मोतिहारीको घोडासानका बन्टीकुमार कलवार र सुरज कलवारलाई स्रोत नखुलेको पैसा सहित रौतहटबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
रौतहटको परोहा नगरपालिका–९ मा प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ३० लाख ७६ हजार रुपैयाँ बरामद गरेको हो । भारतबाट बीआर ०५ आर४५२१ नम्बरको भारतीय मोटरसाइकल चढेर नेपाल आउने क्रममा पक्राउ परेका हुन् । पक्राउ परेकाहरु हुण्डी कारोवारी भएको आशंकामा प्रहरीले थप अनुशन्धान थालेको बताईएको छ ।
प्रहरी प्रधान कार्यालयले रौतहटको सिमाक्षेत्रबाट प्रहरीले चालु आर्थिक वर्षमा एक करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद भएको जानकारी गराएको छ । रौतहटमा मात्रै एक वर्षको अवधिमा स्रोत नखुलेको १ करोड १७ लाख ८६ हजार रुपैयाँ बरामद भएको छ ।