काठमाडौँ / भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहे पनि एक लाखभन्दा बढी नै रहेको पाइएको हो । 

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख २० हजार ५२९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो दिन शुक्रवारको भन्दा ११ हजार ८३५ जना कम भएको तथ्याङ्कमा देखिएको छ । 

OM Sai Pathibhara Hospital

भारतमा शुक्रबार एक लाख ३२ हजार ३६४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक भएको थियो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म दुइ करोड ८६ लाख ९४ हजार ८७९ जना सङ्क्रमित भएका छन् ।  

अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने १५ लाख ५५ हजार २४८ रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो एक दिनमा भारतमा कोरोना भाइरसका कारण तीन हजार ३८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कुल मृतकको संख्या तीन लाख ४४ हजार ८२ पुगेको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि गत २४ घण्टामा एक लाख ९७ हजार ४९४ जना सङ्क्रमण मुक्त भएका छन् । 

अहिलेसम्म सङ्क्रमण मुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ६७ लाख ९५ लाख ५४९ पुगेको अधिकारीहरुले जनाएका छन् । कुल सङ्क्रमित मध्ये ९३ प्रतिशत सङ्क्रमण मुक्त भएको पाइएको छ ।