काठमाण्डौ / योग गुरु रामदेव र आयुर्वेद विज्ञ आचार्य बालकृष्णको भारतीय कम्पनी पतञ्जलीले कारोना संक्रमितका लागि भनेर बनाएको विवादास्पद आर्युवेदिक औषधी स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठीले स्विकार गरेका छन् ।

भारतमा समेत विवादमा रहेको अनि नेपालमा दर्ता नै नरहेको पतञ्जलीको कोरोनिल औषधी मन्त्री त्रिपाठीले स्विकार गरेका हुन् । पतञ्जलीले नेपालका लागि भनेर पठाएको १५ हजार कोरोनिल पतञ्जलीका प्रतिनिधिको हातबाट स्वास्थ्य मन्त्रीले नै स्वीकारेर लिएका हुन् ।

OM Sai Pathibhara Hospital

पतञ्जलीले कोरोना संक्रमितका लागि भनेर बनाएको विवादित औषधी  नेपालमा दर्ता नै नभएको अनि नियमनकारी संस्थाले अनुमति नै समेत नदिएको पाईएको छ । नियमनकारी निकाय औषधि व्यवस्था विभागले पतञ्जलीको सो विवादित औषधी नेपालमा दर्ता नरहेकाले औषधि लिन र वितरण गर्न कानुनत नपाईने जनाएको छ ।

विभागका औषधि व्यवस्थापक सन्तोष केसीले सो विषयमा प्रष्ट पार्दै भनेका छन्  – कोरोनिल औषधि विभागमा दर्ता भएको छैन । दर्ता नभएको औषधि वितरण गर्न मिल्दैन मन्त्री ज्यूले स्विकारेको विषय विभागलाई जानकारी छैन ।

पतञ्जलीले नेपालमा प्रयोगका लागि विगत लामो सयम देखि प्रयास गर्दै आएको छ । विभागले भारतमा नै विवादमा आएको सो औषधि दर्ताका लागि अस्विकार गरेको समयमा तालुकदार मन्त्रालयका मन्त्रीले नै सो औषधी स्विकार गरेपछि नेपालमा प्रयोगका लागि अनुमति दिन औषधी व्यवस्था विभाग माथि दवाव बढेको छ । स्मरण रहोस् नेपालमा दर्ता नभएको औषधी कुनै पनि वहानामा नेपालमा ल्याउन अनि प्रयोग गर्न कानुनले नै बन्देज लगाएको छ ।

सरकारले भारतीय दवावमा काम गरिरहेको आरोप लागिरहेका बेला कानुन नै मिचेर स्वास्थ्यमन्त्रीले विवादास्पद औषधी स्विकार गरेका छन् ।