काठमाण्डौं / कोरोना संक्रमण मुक्त भएपछि देशवाशीका नाममा भिडियो सन्देश जारी गरी पुर्व राजा ज्ञानेन्द्र शाहले महामारी नियन्त्रणमा थप अन्तराष्ट्रिय सहयोगको नेपाललाई खाँचो रहेको बताएका छन् ।

उनले कोरोना नियन्त्रणका लागि प्राप्त भएका अन्तराष्ट्रिय सहयोग प्रति आभार प्रकट गर्दै नेपाल र नेपालीका लागि गरेको सहयोग प्रति धन्यवाद समेत व्यक्त गरेका छन् । नारायणहिटी दरवार छाडेपछि विशेष अनि खास दिनमा देशबासीका नाममा लिखित रुपमा शन्देश दिंदै आएका पूर्वराजाले उपचारमा नै रहेकी पत्नी कमललाई समेत साथमा नै राखेर पहिलो पटक भिडियो सन्देश जारी गरी महामारी नियन्त्रणका लागि थप वैदेशिक सहयोग मागेका हुन् ।

OM Sai Pathibhara Hospital

पुर्वराजा परिवार निकटस्थहरुले पूर्वराजाले पत्निलाई समेत साथमा राखेर यसरी भिडियो सन्देश दिएको पहिलो पटक भएको समेत बताएका छन् । गुप्तचर खबरसँगको कुराकानीका क्रममा पुर्व राजपरिवार निकटले यो पटकको भिडियो सन्देश अर्थपूर्ण भएको बताएका छन् । कोरोनाबाट बच्न खोपको पर्खाईमा बसेका आम देशवासीलाई महामारीबाट जोगाउन पुर्वराजा र रानीले सँगै बसेर मागेको वैदेशिक सहयोगको विषय अर्थपूर्ण हुन सक्ने समेत उनले बताएका छन् ।

उनले कोरानाको महामारीले आमदेशवासी आक्रान्त बनेको समयमा मुलुकमा चलेको राजनितिक खिचातानी अनि अस्थिर सरकारका कारण खोप आयातमा भएको बिलम्बका कारण नागरीक प्रताडित हुने अवस्था आएपछि पुर्वराजा र रानीले भिडियो सन्देश मार्फत अहिले सम्म प्राप्त सहयोगका लागि आभार प्रकट गर्दै महामारी नियन्त्रणका लागि वैदेशिक सहयोग मागेको हुन सक्ने बताएका छन् ।  

संक्रमणका कारण उपचाररत सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै शाहले मृतक प्रति समवेदना समेत व्यक्त गरेका छन् । महामारीको समयमा अहोरात्र खटिएका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र सफाईकर्मी सहित सामाजिक कार्यकर्तालाई शाहले भिडियो सन्देश मार्फत धन्यवाद समेत दिएका छन् ।

गत महिना कोरोना संक्रमणपछि नर्भिक अस्पतालबाट निर्मल निवास फर्किएका पूर्वराजा र रानीले दुई हप्ताको उपचारपश्चात् स्वास्थ्यलाभ भएको भन्दै आफ्ना शुभचिन्तक प्रति आभार समेत प्रकट गरेका छन् ।

स्वास्थ्य लाभ भएको भनिएकी पुर्व रानीलाई साथमा नै राखेर भिडियो सन्देश दिएका पुर्वराजा सँग उपस्थित रानी कोमल शाहले नाकबाट अक्सिजन सहायता लिएको समेत देखिन्छ ।