काठमाडौं / राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा दुई करोडका सामान खरिदमा अनियमितता भएको पुष्टि भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा अनियमितता पुष्टि भएको हो ।
प्राधिकरण अन्र्तगत केन्द्रीय आयोजना कार्यान्वायन इकाई शिक्षामा अनियमितता भएको हो । ३५ वटा डेस्कटप कम्प्युटर तथा २२ वटा ल्यापटक खरिद गर्दा स्पेशिफिकेसनमा तोकिएको भन्दा अर्को सामान खरिद गरेकोले त्यसमा अनियमितता देखिएको हो ।
अख्तियार स्रोतका अनुसार कम्प्युटर र ल्यापटक खरिदको ठेक्का पुतलीसडकको म्याक्स इन्टरनेशनल कम्पनीलाई छनोट गरिएको थियो । आइटीका सरकारी ठेक्कमाा केही वर्षयता सोही कम्पनीले कब्जा जमाउँदै आएको छ । कम्पनीका मालिकको प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ अस्गर अलीसँग निकटता भएकाले यसले करोडौंका ठेक्का हात पार्दै आएको हो ।
यहाँ पनि सोही कम्पनीले बदमासी गरेको हो । एउटा सम्झौता गरेर अर्को सामान भिडाएर उसले अनियमितता गरेको छ । माग अनुसार ब्याकलिट किबोर्ड हुनुपर्नेमा नन–ब्याकलिट किबोर्ड दिइएको छ । कम्युटर र ल्यापटकको अपरेटिङ सिष्टम ‘प्रि फ्याक्ट्री इन्सटल्ड’ हुनुपर्ने स्पेशिफिकेनमा थियो त्यसअनुसारको अपरेटिङ सिष्टम छैन । ल्यापटपको प्रोसेसर समेत तोकिएअनुसार नपाइएको आयोगको छानबिनमा खुलेको छ ।
प्रधानमन्त्रीका आइटीविज्ञ अलीकै कारण सो कम्पनीले बिद्यालयमा स्कुल ल्याब राख्ने तीन अर्बको प्रोजेक्ट हात पारेको थियो । त्यसमा पनि ठूलो भ्रष्टाचार भएको थियो । सेकेण्ड ह्यान्ड सामान आयात गरेर सो कम्पनीले स्कुल ल्याब स्थापना गरेको थियो । ल्यापटप बिक्रिको अनियमितता समेत म्याक्स मुछिएको छ ।
छानबिनमा अनियमितता पुष्टि भइसकेपछि आयोगले मुद्दा दायर भने गर्न सकेको छैन । प्राधिकरणका कर्मचारीसँगको मिलेमतोमा यसरी मुद्दा दायर नगरिएको स्रोत बताउँछ । त्यस्तै, सो कार्यालयबाट छपाईका सामान खरिद तथा बिद्यालयका भवन निर्माणमा समेत ठूलो अनियमितता भएको छानबिनमा देखिएको छ ।