- केशव दाहाल
इतिहासको प्रसंग
रोम जल्दा निरो बाँसुरी बजाउँदै थियो । त्यस्तो पनि हुन सक्छ ? आफ्नै नगरमा आगोका हिंस्रक लप्काहरू उठ्दा कोही कसरी संगीतमा झुम्न सक्छ ? तर इतिहासले भन्छ— यस्तो हुन्छ र भई नै रहेको छ । किनभने, तानाशाहहरू मानवीय संवेदनामाथि खेलबाड गर्नुलाई मनोरञ्जन ठान्छन् ।
त्यसैको ऐतिहासिक विम्ब हो— निरो । सन्दर्भ निकै रोचक छ । इतिहासकारहरू भन्छन्– सन् ५४ अक्टोबर १३ मा एउटा सत्रवर्षे किशोर रोमन साम्राज्यको सम्राट् बन्यो । उसको वास्तविक नाम थियो— क्लाउदिअस सिजर अगस्तस, जसलाई निरो पनि भनिन्थ्यो । केटो निकै चञ्चल र रसिक थियो । त्यसैले सानै उमेरमा दासीपुत्री क्लाउदियासँग उसको प्रेम भयो । तर तत्कालीन रोमन साम्राज्यमा जातीय कट्टरता र संकीर्णता चरम थियो । परिणाम, उसको प्रेम कसैले स्विकारेन । बरु उल्टो निरोको विवाह भयो अक्टोलियासँग । तर, निरोले क्लाउदियालाई भुल्न सकेन । र, सबै कुरा त्यसपछि गडबड हुँदै गयो ।
निरोका जीवनीकार गाइअस कोर्नेलिअस ट्यासिटसका अनुसार, निरो आफ्नी रानी अक्टोलियासँग पटक्कै खुसी थिएन । त्यसैले ऊ चिढचिढो र हठी हुँदै गयो । अवश्य नै उसमा शक्तिको उन्माद थियो । र, थियो राजकाजमा चरम लापरबाह । खासमा आफ्नो प्रेमलाई असफल बनाउने भारदार, मन्त्री, नाताकुटुम्बहरू सबैसँग निरो बदला लिन चाहन्थ्यो । त्यसैताका एक दिन उसलाई परापूर्वकालमा भएको टाय युद्धको सम्झना आयो । त्यो भीषण युद्धमा पुरानो टायनगर पूरापूर जलेको थियो ।
त्यही सम्झनाले रोमाञ्चित निरोमा एउटा सनक चढ्यो । त्यो के भने, उसलाई टायनगर जल्दाको दृश्य हेर्न मन लाग्यो । उसले तत्काल सैनिकहरूलाई बोलाएर आदेश दियो— रोम नगरमा आगो लगाओ । आदेश तामेल भयो । एकै छिनमा नगर हुरहुरी बल्न थाल्यो । र, निरोले बाँसुरी बजाउँदै दरबारको अट्टालिकामा बसेर त्यो दृश्य हेरिरह्यो ।
त्यस घटनाबारे अनेक टिप्पणी छन् । कोही भन्छन्— सन् ६४ मा आगो लागेकै हो । र, त्यो आगो रोम सहरको दक्षिणपूर्वी भागबाट उठेको थियो, जसले सहरका तेह्रमध्ये सात भागलाई लपेट्यो, जसमा तीन भाग पूरापूर खरानी बने । भनिन्छ, त्यो आगो कैयौं दिनसम्म दनदनाइरह्यो । कोही भन्छन्— आगो पाँच दिनसम्म लागेको थियो । कोही भन्छन्— नौ दिनसम्म । आगो जुन क्षेत्रबाट उठ्यो, त्यहाँ दासहरूको बस्ती थियो । कसैकसैले त्यो आगो रोमका कट्टरपन्थीहरूले लगाएको आरोप पनि लगाउँछन् । उनीहरूको झिनो तर्क छ— निरोलाई फसाइएको हो ।
निरोको प्रेम त विवादास्पद भयो नै, ऊ स्वयं पनि सनकी थियो, जसले गर्दा भारदारहरूबीच शंका, टकराव र तनावहरू बढ्दै गए । निरोको हठ, अहंकार, लापरबाही र पागलपनबाट सबै दिक्क थिए । यतिसम्म कि, विवादमा निरोकी आफ्नी आमा, धर्मगुरु र अनेक भारदारको समेत हत्या भयो, जुन हत्या स्वयं निरोले गराएको मानिन्छ । अन्ततः दिक्क भएका भारदारहरू उसलाई अपदस्थ गर्नुपर्ने निष्कर्षमा पुगे । निरो क्रमशः एक्लो र निरीह बन्दै गयो ।
निरोको मृत्युमाथि अनेक टिप्पणी गरिन्छन् । कोही भन्छन्— रोम जुन आगोमा जल्यो, त्यसैमा हामफालेर उसले आत्महत्या गर्यो । अर्को भनाइ छ— पागलपन र सनकको हदमा पुगेर निरो सिकिस्त बिरामी भयो र मर्यो । तर निरोको जीवनी लेख्ने इतिहासकार ट्यासिटसको बयान अर्कै छ । उनको कथन छ— जब निरोलाई अपदस्थ गर्ने पक्कापक्की भयो, तब ऊ निकै उत्तेजित र निराश भयो । उसलाई लाग्यो— षड्यन्त्रको सिकार भएर मारिनुभन्दा आफैं मर्नु बेस ।
अतः सन् ६८ को एक दिन ऊ दरबारबाट निस्कियो र टिइबर नदीको किनारमा गयो । उसले आफ्नी प्रेमिकालाई पनि बोलायो । प्रियतमासँगको अन्तिम मिलनपछि उसले हातको नसा काट्यो र मर्यो । इतिहासकार सुटोनिअसका अनुसार, आत्महत्यापूर्व निरोले भनेको थियो, ‘न मेरा मित्र छन्, न शत्रु नै ।’ त्यो एक तानाशाहको कठोर आत्मस्वीकृति थियो ।
निरोले बजाएको बाँसुरी खासमा एक विम्ब हो । रोम जल्दा उसले बजाएको असली बाजा थियो— लायर । लायर रोमन साम्राज्यको सर्वाधिक प्रिय बाजा थियो । यद्यपि उसले के बजाएको थियो, त्यो मुख्य कुरा होइन । मुख्य कुरा हो— उसको अहंकार, लापरबाही र सनक । मानवीय संवेदना र उत्तरदायित्व शासकहरूको न्यूनतम चरित्र हो । तर जब सत्ता र शक्तिको उन्मादमा शासकहरू मानवीय संवेदना र उत्तरदायित्व गुमाउँछन्, त्यहीँबाट निरोको जन्म हुन्छ । त्यसपछि नगरहरू जल्छन् । जनताले दुःख पाउँछन् । इतिहास कलंकित हुन्छ । र, अन्ततः निरो स्वयं आफ्नै दुष्कर्मको रापमा जल्न पुग्छ । यो सन्दर्भबाट निर्माण भएको विशाल सत्य यही नै हो ।
वर्तमानको सन्दर्भ
निरोको मृत्यु आजभन्दा लगभग दुई हजार वर्षअगाडि नै भएको थियो । तर मृत्युपछि पनि निरो पटकपटक सत्तामा पुनरावृत्त हुन आइपुग्छ, किन ? सायद, यो आजको राजनीतिक दुर्भाग्य हो । सायद, यो आजको राजनीतिक असफलता हो । परिणाम, निरो कहिले अमेरिकामा ट्रम्पको वेशमा आउँछ, कहिले भारतमा मोदीको वेशमा । कहिले निरो नेपाली राजनीतिको सत्तामा आउँछ, कहिले सडकमा । विम्बमा भनौं— सायद यो इतिहासको पुनर्जन्म हो ।
उता रोम जल्दै गर्दा निरो बाँसुरी बजाउँथ्यो, यताका निरोहरू देशमा रोग र भोकको आगो बल्दै गर्दा सत्ताको गीत गाउँछन् । रोमको निरो क्रूर र निर्लज्ज थियो, हाम्रा निरोहरू लालची र अहंकारी छन् । उस बेलाको निरो हठी थियो, आजका निरोहरू षड्यन्त्रकारी छन् । यो कटु सत्य हो, जसलाई पुष्टि गर्न रोमन साम्राज्यका तथ्यहरू हेर्नुपर्दैनस हाम्रै आँगनका भोक, रोग र अपमानहरू काफी छन् ।
जस्तो हेरौं त, बितेको एक वर्ष ओली, प्रचण्ड र माधवहरूको लडाइँमै बित्यो । के त्यसको कुनै वैचारिक र राजनीतिक कारण थियो ? उनीहरूको साँढेजुधाइबाट देशको एक वर्ष सत्यानाश भयो । के त्यसको कुनै क्षतिपूर्ति हुन सक्छ ? हाम्रा आशा, अपेक्षा र सपनाहरूमाथि ओली र माधवहरूले जसरी खेलबाड गरे, के त्यो निरोको नयाँ संस्करण होइन ? देश कोरोनाले आक्रान्त हुँदा कांग्रेस, कम्युनिस्ट र राजपाका मठाधीशहरू सत्ताको जुन गीत गाउँदै थिए, के त्यसको कुनै गम्भीर अर्थराजनीतिक महत्त्व थियो ? थियो भने के थियो र थिएन भने हाम्रो अमूल्य एक वर्ष किन नाश गरियो ?
कोरोना संकटकै कुरा गरौं । विज्ञहरू भन्छन्— कोरोना पछिल्लो सय वर्षकै सबैभन्दा ठूलो आर्थिक, सामाजिक र राजनीतिक संकट हो । यो स्वास्थ्य संकट मात्र होइन । यो त प्रचलित राज्यप्रणाली, चिन्तनपद्धति, विकास ढाँचा र सभ्यताकै संकट हो, जसका प्रभावहरू भविष्यमा अझ व्यापक हुँदै जानेछन्, जो यति प्रबल हुनेछन् कि प्रचलित विश्वको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा उथलपुथल आउनेछ ।
यति ठूलो संकट सामुन्ने छ, हाम्रा निरोहरू के गर्दै छन् ? के समस्यासँग जुध्न कुनै गम्भीर विमर्श र साझा पहल हुँदै छ ? छैन । बरु उनीहरू स्वयं स्वास्थ्य मापदण्ड लत्त्याउँदै भेला, सभा र जुलुसहरू गर्दै छन् । आरोप–प्रत्यारोप चल्दै छ । संकटमा जनता फसेका छन् तर उनीहरूको रामराज्य अकण्टक छ । के यो निरोको पुनरावृत्ति हैन ?
आज सरकारले गर्नुपर्ने कामहरू अनेक छन् । अस्पताल, अक्सिजन, राहत आदि । किनभने मान्छेलाई सरकार चाहिने नै संकटमा हो । साधारण अवस्थामा त उड्न अनन्त आकाश छँदै छ । भयंकर आँधीमा न मान्छेलाई ओत चाहिन्छ, त्यसैले नै हामी सरकार बनाउँछौं । निर्वाचन हुन्छ । जनताले कर तिर्छन् । मन्त्रीहरूलाई गाडी, तलब, भत्ता, सम्मान र सुविधा दिइन्छ । अन्यथा सरकार किन चाहियो ? तर कोरोनाको संकटमा सरकारले जनतालाई के दियो रु लापरबाही । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र काठमाडौंमा मान्छेहरू सास फेर्न अक्सिजन खोजिरहेका थिए तर सत्ताका निरोहरू सांसदहरू किन्न र लुकाउनमा व्यस्त देखिन्थे ।
जति बेला निर्धा मान्छेहरूका आँखाबाट पीडाका आँसुहरू झर्दै थिए, सरकार शपथग्रहणमा मग्न थियो । जति बेला मान्छेहरू रोगले थाकेर लगलग काम्दै थिए, सरकार विजयको उत्सव मनाउँदै थियो । जनता भक्कानिएर रुन पनि नसकिरहेका बेला सरकार अट्टहास गर्दै थियो । र, आसेपासेहरू पुनः सत्ताप्राप्तिको शुभकामना साटासाट गरिरहेका थिए । के यी सब परिदृश्य हाम्रा शासकहरूको पतनका ताजा उदाहरण हैनन् ?
कुरा रोगको मात्र छैन । कुरा भोकको पनि छ । निषेधाज्ञाले मान्छेको जीविका खोसेको छ । सहरमा दैनिक श्रम गरी गुजारा चलाउनेहरूसँग काम छैन । यातायात मजदुरहरू खाली छन् । ट्याक्सी चालकहरू खाली छन् । उद्योगहरू चलेका छैनन् । पछिल्ला तथ्यांकहरूले भन्छन्— नेपालमा लगभग २५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ । अर्थात्, ७५ लाख नेपालीसँग बचत छैन । दैनिक सरदर २०० रुपैयाँभन्दा कम कमाउने नेपाली ७ प्रतिशत छन् । यी २१ लाख मान्छे अहिले कसरी खाँदै होलान् ? सरकार बेफिक्री छ ।
निरोको कथाले भन्छ— मुलुक अधोगतितिर गइरहेका बेला, जनता संकटले त्राहित्राहि भइरहेका बेला र मान्छेको अनुहारमा सम्पूर्ण खुसी सकिएका बेला जब एउटा शासक आफ्नै मस्तीमा बाँसुरी बजाउँछ, त्यो इतिहासकै भ्रष्ट, पतित र नालायक शासक हो । त्यो निरो हो । विगतमा निरोले झोसेको आगोले रोम जलेको थियो, यता आजका निरोहरू मान्छेका सपना जलाइरहेका छन् ।
उता निरोले लगाएको आगोले सहर जलेको थियो, यताका निरोहरू लोकतन्त्र सल्काउँदै छन् । यो आगोले कतै हाम्रो सम्पूर्ण समयलाई नष्ट नगरोस्, यो नै आजको चिन्ता हो । अन्यथा निरोहरू कति बेला कसरी सन्किन्छन्, के थाहा ? भोलि आफ्नै सपनाहरू जल्दा निभाउन हाम्रो भागमा पानी पनि नहोला । आजका निरोहरू धेरै खतरनाक छन्, अतः बेलैमा प्रश्न गरौं । कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।