बिर्तामोड / नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै निधन भएको छ ।

गत वैशाख १९ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा कार्कीको उपचार भइरहेको थियो । स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा शनिबार साँझ ८ः०० बजे उनको निधन भएको हो ।

OM Sai Pathibhara Hospital

झापानिवासी कार्की विगत डेढ दशकदेखि काठमाडौंमा रही पत्रकारितामा सक्रिय थिए । जनता टाइम्स डटकमका सम्पादक कार्की प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य थिए भने सौर्य दैनिकमा सहसम्पादकको जिम्मेवारीसमेत उनले वहन गरेका थिए ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले कार्कीको निधनबाट स्तब्ध भएको उल्लेख गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी पत्रकार कार्कीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन् ।

ज्ञातव्य छ, कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको छ भने ७५० भन्दा बढी पत्रकार सङ्क्रमित भएका छन् ।