खाँदवारी / भारतीय कम्पनीले निर्माण गरीरहेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस सुरुङभित्र कामदारको मृत्यु भएको विषयलाई लिएर मजदुरहरुले आयोजना स्थलमा तोडफोड गरेका छन् ।
संखुवासभाको चिचिला गाउँपालिका– ३ पुखुवास्थित अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङभित्र रड ओसारपसार गर्ने क्रममा कञ्चनपुरको शुक्लाफाँट नगरपालिका– १२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएपछि मजदुर आन्दोलित बनेका हुन् । रानाको बुधबार बिहान सुरुङ भित्र ढिस्कोले पुरिएर मृत्यु भएको थियो । घटनामा परी घाईते भएका सोही ठाउँका ५० वर्षीय मिठु रानाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको छ
कामदारको मृत्यु र अर्का एक घाईते भएको विषयमा आयोजना निर्माण कम्पनीले कुनै सहयोग नगरेको भन्दै मजदुर आन्दोलित भएका हुन् । आक्रोसित मजदुरले आयोजना स्थलमा तोडफोड मच्चाएका छन् ।
अरुण तेस्रो जलविद्युत आयोजना अरूण नदीमा निर्माणाधीन विद्यूत आयोजना हो। जिल्लाको मकालु गाउँपालिकामा अवस्थित आयोजनाको क्षमता ९०० मेगावाट छ। आयोजनाको कूल लागत १ खर्ब ४ अर्ब रुपैया हुने तथा निर्माण कार्य ५ वर्ष भित्रमा सकिने आयोजना हो । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला २०७५ बैशाख २८ गते नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँबाट यस आयोजनाको शिलान्यास गरेका थिए।
आयोजना निर्माण गर्ने ठेक्का भारतको सतलज हाइड्रो कम्पनीले पाएको थियो । ठेकेदार कम्पनीले अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनी मार्फत आयोजनाको काम गरीरहेको छ । आयोजनाको बाँध मकालु गाउँपालिकाको वडा नम्बर ३ र ५ तथा विद्युत्गृह चिचिला गाउँपालिकाको वडा नम्बर ३ मा रहने गरी निर्माण भईरहेको छ ।