काठमाडौँ / नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पार्थीव शरीरमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
मन्त्री गुरुङले आज बिहान मनमोहन मेमोरियल अस्पतालमा पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । त्यस्तै पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे । उनको केही समयपछि पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहबाट अन्त्येष्टि गरिनेछ । कोरोना सङ्क्रमणबाट मङ्गलबार राति नेता चौलगाईंको निधन भएको थियो ।
नेकपा (एमाले) पोलिटब्यूरो सदस्य रहनुभएका चौलागाईं दोलखा ‘ख’ बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नेता चौलगाईं विसं २०५६ को निर्वाचनमा दोलखा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । त्यस्तै २०७० को संविधानसभा चुनावमा समानुपातिक कोटाबाट सांसद भएका थिए ।
विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहेका चौलगाईं निष्ठावान र इमान्दार नेता थिए । उनको निधनले दोलखाका साथै सिङ्गो राष्ट्रले अपूरणीय क्षति व्यहोर्नुपरेको एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताए ।