गोदावरी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको आज अनुगमन गर्दै उनले स्वास्थ्यकर्मीलगायत सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण दरमा निरन्तर वृद्धि भइरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि सबैले आ–आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
मुख्यमन्त्री भट्टले कोरोनाको सङ्क्रमण दर कम गर्न स्वास्थ्यका आवश्यक मापदण्डको पालना गर्न जरुरी रहेको बताएका छन् । भारतका विभिन्न स्थानबाट स्वदेश फर्किरहेका नेपालीमा कोरोना भाइरस सङ्क्रमण बढेको पाइए पनि पर्याप्त मात्रामा परीक्षण हुन नसक्दा जोखिम बढ्ने खतरा देखिएको उनको भनाइ छ । बढ्दै गएको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै उनले ती स्वास्थ्य केन्द्रका अवस्था बुझ्न आज स्थलगत निरीक्षण गरेको जनाइएको छ ।