बिर्तामोड ( कान्तिपुर दैनिकबाट) ‘धर्तीमा आग पड्यो (जमिनमा आगो लागेजस्तो भयो), लालाबाला काँ लगेर पाल्ने रु’ थलारा गाउँपालिका–२ का किसान शेरबहादुर खाती बाटो हिँड्नेहरूसँग विरह पोख्छन् । बेलाबेला खेततिर हेर्छन्, खुइय्य सुस्केरा हाल्छन् र टाउकामा हात राखेर टोलाउँछन् ।
उनको खेत आगोले डढाएजस्तै सुक्खा छ । छरेको बीउ नउम्रेर धेरैजसो ठाउँ बाँझै छन् । केही ओसिलो भागमा परेको बीउ उम्रे पनि फल नलागी सुकेको छ । ‘खत्तमै भयो भनेको साल पनि ३०र४० बोरी जेठाँसी तुल (हिउँदे बाली) हुन्थ्यो । यो साल त फल छाडी नल पन नहुन्याँ भयो,’ उनले भने, ‘यो पालाजस्तो अनिकाल त कहिले भएन । के खाएर बाँच्ने हो रु’
पोहोर–परार यो समयमा खाती परिवारलाई हिउँदे बाली भित्र्याउन चटारो हुन्थ्यो । चैत अन्तिम साताबाटै उनीहरू गहुँ, जौ, मसुरोलगायत हिउँदे बाली काट्ने, चुट्ने, छ्वाली र भुस्सा थन्काउने काममा व्यस्त रहन्थ्यो । परिवारले वर्षभरि खाएर बचेको अन्न बेच्ने गरेका उनीहरूले यसपालि एक गेडो अन्न भित्र्याउन पाएका छैनन् । खडेरीका कारण करिब २५ रोपनीमा लगाएको हिउँदे बाली फल लाग्नै नपाई खेतमै सुकेको खातीले बताए ।
लामो समयसम्म परेको खडेरीका कारण खातीमात्रै हैन, बगाडा, कफलकाडा, धनाडा, कात्रा, बेराडी, एनबाडा र तोतिबाडाका चार सयभन्दा बढी किसान परिवारको हालत यस्तै छ । ‘भदौदेखि राम्रोसँग पानी परेको थिएन, पुस–माघतिर वर्षा भइहाल्ला भनेर दुःख गरेर खेती लगायौं । छरेकै बीउ पनि उब्जनी भएन,’ दंगाजीका गणेश सायरले भने, ‘खडेरीले पूरै जमिन डढेको छ । उम्रेको बीउ पनि फल्न पाएन । खेतबारी सबै बाँझो भयो ।’
उनले हिउँदे बाली खडेरीले सखाप पारेकाले सयौं परिवार भोकमरीको चपेटामा पर्ने निश्चित भएको बताए । यस्तो समस्या जिल्लाभरि छ । खडेरीका कारण जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, वित्थडचिर, केदारस्युँ, दुर्गाथली, छविसपाथिभेरा र खप्तड छान्ना गाउँपालिकाका अधिकांश क्षेत्रमा लगाइएको हिउँदेबाली सुकेर नष्ट भएको छ । सुर्मा, मस्टा, तल्कोट र साइपाल गाउँपालिकामा पनि लगाइएको हिउँदे बाली खडेरीको चपेटामा परेको छ । ‘पहिला मानो छरे मुरी फल्ने ठाउँमा यो पाला पाथी बीउले मानो पनि उब्जिएन,’ जयपृथ्वी नगरपालिका कैलाशका भरत कामीले भने, ‘रुडा (खडेरी) ले गर्दा माटो खरानी जस्तै भएको छ । आदै (आर्द्रता) नभएपछि उम्रेको बीउ पनि सुक्यो । हामी त भोकै मर्ने भयौं,’ उनले सामान्य अवस्थामा वार्षिक १०र१५ क्विन्टल हिउँदे बाली फलाउने किसानको खेतमा यो वर्ष एक क्विन्टल पनि उब्जनी नभएको बताए । ‘सिमार (छिपछिपे पानी भइरहने खेत)तिर खेत हुने कसैकसैले एक दुई कट्टा (५० किलोको बोरा) भित्र्याए होलान् । धेरैजसोले त अन्नको गेडोसम्म देख्न पाएनन्,’ उनले भने ।