राँझा / शुक्रबार साँझ बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनाका मृतक पाँचै जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–१२ निवासी २१ वर्षीय उदय बाठा, कोहलपुर–१३ निवासी २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साटाखानी– ७ का ४१ वर्षीय जीवनकुमार विक, झापा मेची नगरपालिका– १० का ४५ छत्रबहादुर कटवाल र सिराह सुखीपुर गाउँपालिका–३ निवासी ३२ वर्षीया अम्बिका कान्ति रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिएका छन् ।
अम्बिकासँगै रहेकी डेढ वर्षीया छोरीलाई शिक्षण अस्पताल कोहलपुरमा सुरक्षितरुपमा राखिएको छ । दुर्घटनामा घाइते भएका ३७ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने पाँच जनाको अवस्था सामान्य रहेको छ । सामान्य घाइते २९ जनालाई शिक्षण अस्पतालले घर पठाएको छ ।
सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र ‘अनटेस्ट’ मालबाहक टिपर कोहलपुर–१३ स्थित रोहिणी खोला नजिकै बाँके राष्ट्रिय निकुञ्ज सडक खण्डमा एकापसमा ठोकिएका थिए ।