विराटनगर / प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलका सांसदहरुको विरोधका कारण स्थगन भएको छ । नेकपा माओवादीका तर्फबाट प्रदेश सांसद टङ्क आङ्बोले नेकपा (एमाले)मा प्रवेश गरेका कारण सो पार्टीका केन्द्रीय समितिले दलको विधान र ऐनविपरीत कार्य गरेको कारण देखाई सांसद् पदबाट खारेज गरेको पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाएपछि सांसदहरुले नियमापत्ती गरेका थिए ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरुले नियमापत्ति गरेपछि सभामुख भण्डारीले बैठक स्थगन भएको जानकारी दिएका छन् । सभामुखले बैठक नियमित रुपमा सञ्चालन गर्न पटक–पटक आग्रह गर्दा पनि सांसदहरुले उभिएर नै विरोध जनाएपछि आजको बैठक स्थगन गरेका हुन् ।
बैठक स्थगन हुनुअघि बोल्न समय पाएका कांग्रेस संसदीय दलका सचेतक सूयर्माराज राईले प्रदेश अहिले राजनीतिक र आर्थिक दुवै हिसाबले कमजोर भएको भन्दै विकास सञ्चालनका लागि स्रोतको सुनिश्चिता गर्न सरकारसँग माग गरेका छन् । उनले जबसम्म सरकारले संसद्मा उठाइएका प्रश्नहरुको जवाफ दिँदैन, तबसम्म संसद् चल्न नदिने घोषणा गरेका छन् ।
यसअघि आजको शून्य समयमा सांसद उमीता विश्वकर्माले निर्वाचन क्षेत्र विकास कार्यक्रम तथा विशेष निर्वाचन क्षेत्र विकास कार्यक्रम अविलम्ब सञ्चालन हुनुपर्ने माग गर्दै सरकारले महिला सशक्तीकरण र दलित विधेयक ल्याउन नसकेको आरोप लगाएका छन् । अर्का सदस्य नारायणबहादुर मगरले प्रदेशमा बुहवर्षीय सडकका योजना अलपत्रमा परेको, रकमको अभावमा ठेक्का लिएका कम्पनी पनि भाग्न लागेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताएका छन् ।
यस्तै अर्का सदस्य रामचन्द्र लिम्बूले सरकारले ८५ प्रतिशत प्रगति गरेको विवरण सदनमा जानकारी दिए पनि त्यसअनुसारको काम नभएकाले बजेट कहाँ गयो जवाफ दिनुपर्छ भने । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो १ः०० बजे बस्ने सभामुख भण्डारीले जानकारी दिएका छन् ।