काठमाडौँ / खेतीयोग्य जमीनमा धमाधम प्लटिङ गर्ने र सार्वजनिक जग्गालाई पनि त्यहीँभित्र पारेर मास्न थालेपछि गोकर्णेश्वर नगरपालिका –२ का युवा संरक्षणमा जुटेका छन् ।
नगरपालिकाको समेत सहयोग लिएर युवाले सार्वजनिक जग्गालाई तारबारले घेर्न थालेका हुन् । युवाले देउवाली चौर संरक्षण समिति गठन गरेर नगरपालिकाको २ नं वडा नयाँपाटीस्थित ढुङ्गेचौरको एक रोपनी छ आना जग्गा संरक्षण गरेका हुन् ।
नक्शामा नयाँपाटी–४ ९क० कित्ता नं ६० मा एक रोपनी नौ आना जग्गा भए पनि वरिपरिबाट मिचेको पाइएको समितिका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिएका छन्। सार्वजनिक जग्गा संरक्षण गर्दा सडकका लागि नौ फिट जग्गा छाडिएको समितिले जनाएको छ । तारबार लगाएर सार्वजनिक जग्गा संरक्षण गर्न नगरपालिकाले रु दुई लाख ५५ हजार ३०८ सहयोग गरेको छ ।
खेतीयोग्य जमीन भएको राजधानीका काठ क्षेत्रमा त्यसलाई मासेर फाँटको बीचमा प्लटिङ गरिए पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । वडा अध्यक्ष कृष्णबहादुर पण्डित प्लटिङको स्वीकृति नगरपालिकाले दिने गरेको बताउछन् ।
नगरपालिकाले कित्ताकाट गर्न स्वीकृति नदिई एकमुष्ट जग्गाको अनुमति दिने गरे पनि व्यवसायीले मालपोत र नापीमा कसरी मिलाएर कित्ताकाट गरेका छन् भन्ने थाहा नभएको उनको भनाइ छ ।