बिर्तामोड (कान्तिपुर दैनिकबाट ) बिहीबार एकै दिन ४७ जिल्लाका ४ सय ७९ स्थानमा डढेलो लागेको छ । दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जाल संयोजक डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले बिहीबारको डढेलो अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताए ।

गत वर्ष यही दिन एक ठाउँमा मात्र डढेलो लागेको थियो । ‘बिहीबार धेरैतिर डढेलो लागेको देखिन्छ,’ नासाको मोडिस प्रविधिले खिचेको डढेलोको तस्बिर विश्लेषण गर्दै शर्माले भने, ‘यति डढेलो विगतमा कहिल्यै लागेको थिएन ।’

OM Sai Pathibhara Hospital

मध्य फागुनदेखि मध्य वैशाखसम्म अत्यधिक डढेलो लाग्ने गर्छ । हिमाली क्षेत्रमा कात्तिकमै डढेलो लाग्न सुरु हुन्छ । यो वर्ष रसुवा, ताप्लेजुङ, मनाङ, गोरखा, लमजुङलगायतका हिमाली जिल्लामा मंसिरदेखि डढेलो लागेको हो ।

केही हिमाली जिल्लामा अझै डढेलो नियन्त्रणमा आएको छैन । अघिल्ला ५ वर्षको कात्तिकदेखि चैतसम्मका डढेलोको तथ्यांकलाई विश्लेषण गर्दा पनि बिहीबारको डढेलो संख्या उच्च हो । अघिल्लो वर्ष कात्तिकदेखि चैत १२ सम्म १ सय ६५ स्थानमा डढेलो लागेको थियो । यो वर्ष यही अवधिमा २ हजार ८७ स्थानमा डढेलो लागेको देखिन्छ । ‘डढेलो लाग्ने मुख्य सिजन त अझै बाँकी छ,’ शर्माले भने ।

देशभर डढेलोको प्रकोप बढेपछि शर्मालाई बिहीबार गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा डढेलो विज्ञका रूपमा खटाइएको छ । उनका अनुसार प्राधिकरणले सबै किसिमका प्रकोपसम्बन्धी तथ्यांक एकीकृत गरिरहेको छ । मंसिर–पुसमा उच्च हिमाली क्षेत्रमा मात्र डढेलो लागेकामा फागुनपछि मध्य पहाडी क्षेत्र र तराईका निकुञ्ज–आरक्षसहित सरकारी र सामुदायिक वनमा डढेलो बढेको छ ।

सन् २०१६ अप्रिलमा ५ हजार ३ सय ९६ स्थानमा डढेलो लागेको थियो । यो संख्या एक महिनामा रेकर्ड गरिएको अहिलेसम्मकै धेरै हो । त्यही वर्षको मार्चमा १ हजार २ सय ७९ स्थानमा डढेलो लागेको थियो । गत वर्ष मार्चमा भने १ सय २२ र अप्रिलमा ५ सय १५ स्थानमा डढेलो लागेको थियो । शर्माका अनुसार नेपालमा ६४ प्रतिशत डढेलो नियतवश र ३२ प्रतिशत असावधानीवश लाग्छ । ४ प्रतिशत डढेलोको कारण भने थाहा हुन सकेको छैन । सामान्यतया नयाँ पालुवा र घाँसको लोभमा गोठालो गएका व्यक्ति वा जंगल जानेले डढेलो लगाउने गरेको पाइन्छ ।

कहिलेकाहीँ भने घरछेउ र बारीमा आगो लगाउँदा हावाले उडाएर जंगलमा पनि डढेलो सल्किने गरेको छ । फागुनदेखि वैशाखसम्म गर्मी, सुक्खापन र हावाहुरीका कारण पनि डढेलोले ठूलो आकार लिने गरेको भेटिएको शर्मा बताउँछन् ।

सन् २००५ देखि सन् २०२१ ९मार्च० सम्म डढेलोले १ सय ६ जनाको ज्यान लिएको छ । सबैभन्दा बढी सन् २००९ मा ४९ जनाको मृत्यु भएको थियो । सन् २०१७ मा डढेलोले कुनै मानवीय क्षति गरेको थिएन । गत वर्ष डढेलोमा परी १ जनाको मृत्यु भएको थियो । यो वर्ष पनि बिहीबारसम्म १ जनाको मृत्यु भइसकेको छ ।

डढेलोले अत्यधिक क्षति गर्न थालेपछि त्यसको निराकरणका लागि वन मन्त्रालयले २०६७ मा डढेलो व्यवस्थापन रणनीति ल्याएको थियो । रणनीतिमा जनचेतना फैलाउने र डढेलो नियन्त्रणका लागि जनशक्ति तयार पार्ने र प्रविधिको विकास गर्ने उल्लेख छ । रणनीतिले भनेजस्तो जनशक्ति भने तयार हुन सकेको छैन । अझै पनि स्याउला र पानीकै भरमा डढेलो नियन्त्रणको प्रयास गर्ने गरेको देखिन्छ । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सहसचिव प्रकाश लम्साल सीमित स्रोत र साधनका कारण उल्लेख्य मात्रामा जनशक्ति तयार पार्न र उपकरण परिचालन गर्न नसकिएको स्विकार्छन् ।

‘क्षमताअनुसार प्रदेश र सामुदायिक वनहरूमा केही संख्यामा डढेलो निभाउने उपकरण वितरण गरिएका छन्,’ उनले भने, ‘जलवायु परिवर्तनले पृथ्वीमै तापक्रम बढाएकाले नियन्त्रण गर्नै नसकिने गरी डढेलोलगायतका प्रकोप पनि बढिरहेका हुन् ।’ संघीयता कार्यान्वयनसँगै निकुञ्ज–आरक्ष र संरक्षित क्षेत्रबाहेक वनका सबै संरचना प्रदेशमा गएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ ९फेकोफन० की अध्यक्ष भारती पाठकले डढेलो नियन्त्रणलाई सबै सामुदायिक वनहरूले उच्च प्राथमिकतामा राखेको दाबी गरिन् । ‘सचेतना बढाउन र डढेलो निभाउने जनशक्ति तयार गर्न हामीले सबैलाई विगतदेखि नै ध्यानाकर्षण गराउँदै आएका छौं,’ उनले भनिन् ।