बिर्तामोड (कारोबार दैनिकबाट) उत्पादन र उपादकत्व बढाउन केन्द्रित हुनुपर्ने उद्योगी–व्यवसायीहरुमा राजनीतिक दलप्रतिको झुकाव बढ्न थालेको छ ।

कुनै राजनीतिक दलभन्दा माथि उठेर व्यावसायिक हकहित र निजी क्षेत्रमैत्री वातावरणका लागि लड्नुपर्ने व्यवसायीहरुमा राजनीतिक दलप्रतिको झुकाव बढ्दै जाँदा यसले नीजिक्षेत्र कमजोर हुने हो कि भन्ने आशंका पनि छ । व्यवसायीको संस्थागत चुनावमा निःस्वार्थ रुपमा व्यवसायको हितका लागि आफ्ना एजेन्डा अगाडि सारेका र आफूले जितेमा देशको अर्थतन्त्रमा ठूलो टेवा दिने राजनीति भन्दा संस्थालाई टाढा राख्ने बताउँदै आएका व्यवसायीबीच राजनीतिमा लागने यस्तो प्रतिष्पर्धा देखिएको हो । शुक्रबार मात्र व्यवसायीको एक समूह नेपाल कम्युनिष्ट पार्टी ९एमाले०मा प्रवेश गरेको छ । विगतमा पार्टीमा व्यापारीहरु प्रवेश गर्दा यसको व्यापक आलोचना हुँदै आएको थियो । पेशा–व्यवसायमा राजनीतिक संरक्षण, नीतिगत प्रभाव पार्नका लागि व्यवसायीहरु पार्टी प्रवेश गर्ने र समग्र व्यवसायभन्दा पनि आफ्नो र आफ्नो वरिपरि झुम्मिनेहरुका लागि काम गर्ने प्रवृत्ति बढेको भन्दै यसको आलोचना हुने गरेको थियो ।

OM Sai Pathibhara Hospital

गत मंसिरमा भएको नेपाल उद्योग वाणिज्य महांसघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष प्रत्याशी रहेका विराटनगरका व्यवसायी किशोर प्रधान नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानसहित २३५ जना उद्योगी–व्यवसायीलाई बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराइएको प्रधानमन्त्री केपी ओलीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडले बताएका छन् । उद्योगी–व्यवसायी पार्टी प्रवेश गर्नु कुनै नयाँ कुरा नभएको उनी बताउँछन् । दुगड यसअघि उद्योग राज्यमन्त्री थिए ।

पार्टी प्रवेश गरेका प्रधान पहिलोपटक शेखर गोल्छासँग पराजित भएका थिए भने यसैवर्ष उनी चन्द्र ढकालसँग वरिष्ठ उपाध्यक्षमा पराजित भएका हुन् । प्रधानसँगै सीताराम अग्रवाल, हितेश गोल्छा, पुनम व्यास, कृष्ण प्रसाईं, मदन मित्तल, अजय सरावगी लगायत उद्योगी–व्यवसायी पनि एमालेमा प्रवेश गरेका छन् ।

प्रधान तिनै व्यवसायी हुन् जसले आफ्नो चुनावका क्रममा राजनीतिभन्दा टाढा महासंघलाई राख्नका लागि आफू वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेको बताएका थिए । एमालेमा प्रवेश गरेपछि भने प्रधानले देशले उद्योगी–व्यवसायीको पनि साथ खोजेकोले आफूहरु पार्टी प्रवेश गरेको बताए ।

सरकारले अगाडि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने जिम्मा निजी क्षेत्रको पनि भएको र त्यसलाई साकार पार्न आफूहरुको आवश्यकता पार्टीले महसुस गरेकोले पार्टी प्रवेश गरेको प्रधानले बताए । “पुँजीको उच्चतम प्रयोग, उत्पादनमूलक उद्योगको बढावा, कृषिको आधुनिकीकरण तथा पर्यटन लगायत समग्र आर्थिक विकासका लागि निजी क्षेत्र पनि राजनीतिमा हुनु जरुरी छ,” उनी भन्छन्, “अन्तर्राष्ट्रिय अभ्यास पनि यस्तै छ, उद्योगी–व्यवसायीहरुलाई राजनीतिक व्यक्तिले साथमा लिएपछि मात्रै देश समृद्ध भएको छ । अब हामी पनि आयौं देश समृद्ध हुन्छ । प्रधानमन्त्रीज्यूले अगाडि सारेको सुखी नेपाली समृद्ध नेपालको नारा साकार हुन्छ ।”

उनले थपे, “अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले यस्तो प्रस्ताव गर्नुभएको थिएन । अहिलेका प्रधानमन्त्रीको भिजन र व्यवसायीलाई पनि सँगै लैजाने नीति मन परेका कारण हामी एमालेका प्रवेश गरेका हौं ।” उद्योग–व्यवसायलाई सहज र सरलीकरण गर्नकै लागि आफूहरु पार्टी प्रवेश गरेको उनको प्रष्टीकरण थियो । भविष्यमा दलको चुनावमा जाने वा नजाने भन्ने प्रश्नमा पार्टीले दिएको जिम्मेवारी पूरा गर्नु आफ्नो र नवप्रवेशी व्यवसायीहरुको कर्तव्य हुने व्यवसायी प्रधानले बताए ।

यता नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघ र पदाधिकारीहरुलाई राजनीतिक दलभन्दा टाढा राख्न आफू प्रतिवद्ध भएको बताए । “हामी निजी क्षेत्र पक्षधर हौं, समग्र निजी क्षेत्रको हितमा काम गर्न चाहन्छौं,” उनी भन्छन् । व्यक्तिगत रुपमा पार्टी प्रवेश गर्नेलाई महासंघले केही गर्न नसक्ने तर पार्टी प्रवेश गरी सक्रिय राजनीति गरेका व्यक्तिलाई महासंघको विधानले अलग गर्ने नीति लिइसकेको उनले बताए ।

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले पनि आफू ‘ननपोलिटिकल’ व्यक्ति भएको र अरुले व्यक्तिगत रुपमा गरेको निर्णयको विषयमा प्रतिक्रिया दिन नचाहेको बताए । “कुनै व्यवसायीले व्यक्तिगत रुपमा निर्णय गरेर पार्टी प्रवेश गर्छ, राजनीति गर्छ भने हामीले केही भन्न मिल्दैन । त्यो सम्वन्धित व्यक्तिले बुझ्ने कुरा हो,” उनले भने ।