बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) दुई साताअघि नेपाल प्रहरीलाई कतैबाट सूचना आयो– ‘बौद्ध क्षेत्रमा बहुमूल्य खनिज पदार्थ युरेनियम (रेडियोधर्मी पदार्थ) बेच्न ग्राहकको खोजी भइरहेको छ ।’ प्रहरीलाई सुरुमा पत्यार लागेन । नेपालमा युरेनियमको खरिदबिक्री सम्भवतः अहिलेसम्म खुला गरिएको छैन । युरेनियमको खपत हुने अस्पताललगायत क्षेत्रले पनि विदेशबाट आयात गर्दा निश्चित सर्त र बन्देज पालना गर्नुपर्छ ।
प्रहरीले पनि विगतमा युरेनियम कसैबाट बरामद गरेको थिएन । युरेनियम खानी भएको सम्भाव्यता अध्ययनपछि बल्ल केहीअघि मात्रै मुस्ताङको लोमन्थाङमा सेनाले खानी सुरक्षार्थ फौज तैनाथ गरेको थियो । त्यसबाहेक युरेनियमबारे खासै छलफल र बहस पनि भएको छैन । तैपनि काठमाडौं उपत्यका प्रहरी कार्यालय र प्रहरी वृत्त बौद्धको टोली सूचनामा भनिएअनुसार युरेनियम बेच्नेको खोजीमा जुट्यो ।
हुलिया बदलेर सादा पोसाकका प्रहरी ‘युरेनियम’ किन्न ग्राहक बनेर पुगे । सूचनामा उल्लेख गरिएअनुसार खोजी गर्दै जाँदा प्रहरी युरेनियम राख्ने र बिक्रीको योजना बनाउने दुई जना र ग्राहक खोज्ने दुई गरी चार जनाको पहुँचमा पुग्यो । त्यही क्रममा रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ र सोही ठाउँ घर भई हाल बौद्धमा बस्दै आएकी ४० वर्षकी जानुका तामाङ, रामेछापकै २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपानेसँग हुलिया बदलेका प्रहरीले करिब डेढ सातासम्म युरेनियम किन्न डिल गरे ।
१ अर्ब ५० करोडदेखि २ अर्बसम्ममा युरेनियम किन्ने गरी डिल भयो । ग्राहकमार्फत नै नारायणसिंह हुँदै जानुकाको बौद्धस्थित घरसम्म ग्राहक बनेका प्रहरीको पहुँच पुगेको थियो । युरेनियम भनिएको सामान जानुकाकै घरमा राखिएको रहेछ । युरेनियम होरहोइन भनेर ग्राहकभेषी प्रहरीले ‘स्याम्पल’ ‘नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नास्ट० मा परीक्षण गरायो । परीक्षणमा उक्त वस्तुमा प्रशोधन नगरिएको ‘युरेनियम–२३८’ का कण भेटियो । यद्यपि नास्टको परीक्षणबाट प्रमाणित यसबारेको तथ्य भने आउन बाँकी नै छ ।
वैज्ञानिकहरूका अनुसार यो भनेको प्रशोधनअघिको प्राकृतिक युरेनियम कच्चापदार्थ हो । प्रशोधन गरिएको युरेनियमलाई ‘युरेनियम–२३५’ उल्लेख गरिन्छ । प्रशोधित युरेनियम अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो १५ देखि २० अर्ब रुपैयाँसम्म पर्न सक्ने बताइएको छ । प्रहरी जानुकाको कोठामा युरेनियम किन्न पुगेपछि सबै एकसाथ पक्राउ परेका थिए । त्यसपछि मात्रै उनीहरूले थाहा पाए– ग्राहक बनेर पुगेको टोली त प्रहरी रहेछ । स्टिलको क्यान र प्लास्टिकको बट्टामा राखिएको अवस्थामा प्रहरीले करिब २ केजी ९ सय ग्राम सामान बरामद गर्यो । उनीहरूलाई प्रहरीले बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।
जानुका, नारायणसिंह र अन्य दुई जनालाई बरामद सामानसहित उपत्यका प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले पत्रकार सम्मेलन गरी सार्वजनिक गरे । ‘बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनियम भएको परीक्षणबाट पुष्टि भएको छ । पक्राउ परेकालाई विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ । प्रहरीले बरामद वस्तु अन्दाजी साढे २ केजी भने पनि २ केजी ९ सय ग्राम भेटिएको छ । बरामद सबै सामान नास्टमा पठाइएको छ ।
त्यसको रिपोर्ट नास्टले आइतबार मात्रै दिने भनेको एआईजी पालले बताए । प्रहरीसँगको प्रारम्भिक सोधपुछका क्रममा ग्राहक खोज्ने जिम्मा पाएका प्रकाश चौहान र मनोज न्यौपानेले आफूहरूलाई २–२ करोड रुपैयाँ कमिसन दिने प्रलोभन दिएको बताएका छन् । ‘ग्राहक खोज्नु, यसबाट दुई जनालाई ४ करोड कमिसन आउँछ भनेपछि हामी लोभियौं,’ मनोज र प्रकाशले बयानमा भनेका छन् ।
जानुका छोराछोरीसहित बौद्धमै बस्छिन् । उनका पति अमेरिकामा छन् । जानुकाका ससुरा अमर लामा पहिले भारतको खानीमा मजदुरी गर्थे । करिब अढाई दशकअघि खानीबाट अमर नेपाल फर्किएका थिए । त्यसबखत अमरले बट्टामा हालेर केही सामान ल्याएका थिए तर परिवार र बाहिरका कसैलाई पनि सुइँको दिएका थिएनन् । केही वर्षदेखि अमर पनि छोरीज्वाइँसँगै अमेरिकामा बस्छन् तर आफूसँग भएको सामानबारे उनले केही नखुलाएको जानुका बताउँछिन् । ‘यो बहुमूल्य वस्तु हो मात्रै भन्नुभएको थियो, हामीले पनि त्यतिबेला केही वास्ता गरेनौं, पछि पो यसबारे थाहा भयो,’ उनले भनिन् । युरेनियम भन्ने शंका लागेपछि जानुका र नारायणसिंहले पनि गोप्य रूपमा त्यसको परीक्षण गरेको र त्यसपछि मात्रै बिक्रीका लागि ग्राहक खोज्दै हिँडेको हुन सक्ने प्रहरीको आशंका छ ।
अनुसन्धानमा भएकाले यसबारे केही खुलाइएको छैन । जानुकाले प्रहरीलाई दिएको जानकारीअनुसार उमेरले ८० काटेका ससुरा अमर पक्षघात भएका कारण हिँडडुल गर्न सक्दैनन् तर त्यसको पुस्ट्याइँ भइनसकेको प्रहरीले जनाएको छ । अमरबारे उनकी छोरीसँग प्रहरीले शुक्रबारै अमेरिकामा कुराकानी गर्यो । ‘बुबा बोल्न सक्नुहुन्न, प्यारालाइसिस भएको छ, हामीलाई यसबारे केही थाहा छैन’ भन्दै उनी पन्छिएकी छन् ।
ससुरा र पति अमेरिकामै भएको बेला केही समयअघि नै उक्त सामानबारे जानुकाले चिनेजानेकै नारायणसिंहलाई जानकारी गराएकी रहिछन् । नारायणसिंह पेसाले औषधि विक्रेता भएको बताएका छन् । औषधिसम्बन्धी जानकार भएकै कारण उनले युरेनियमसम्बन्धी जानुकाबाट सुइँको पाएका रहेछन् । ‘गोप्य सूचनाका आधारमा हामीले केही साताअघिबाटै यसमाथि निगरानी बढाएका थियौं, हाम्रा टोली ग्राहक बनेर खटिएका थिए,’ उपत्यका प्रहरी कार्यालयका एआईजी पालले कान्तिपुरसँग भने, ‘सूचनालाई पछ्याउँदै जाने क्रममा युरेनियम छ भन्ने पुष्टि भयो । परीक्षणमा युरेनियमको कच्चापदार्थ हो भन्ने अनौपचारिक जानकारी पाएका छौं, विस्तृत रिपोर्ट नास्टबाट आइतबार आउँछ ।’
यसअघि भारतमा सन् २०१८ र सन् २०१० मा १र१ केजी युरेनियम बरामद भएको थियो । नेपालमा भने अहिलेसम्म युरेनियम बरामद भएको जानकारी आफूसँग नभएको एआईजी पालले बताए । पक्राउ परेका चारै जनालाई अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । चारैलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ । बहुमूल्य खनिज भएका कारण युरेनियमको कारोबार आफैंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा खतरासँग पनि जोडिन्छ भने मानवलगायत जीवको स्वास्थ्यका दृष्टिकोणले युरेनियम ज्यादै हानिकारक मानिन्छ ।
राष्ट्रिय सुरक्षा संवेदनशीलताकै कारण अध्ययनबाट खानी क्षेत्र भएको पुष्टिपछि लोमन्थाङमा १ हजार २ सय ७१ रोपनी क्षेत्रफलको सुरक्षामा सेना तैनाथ छ । २०७३ साउन ७ को मन्त्रिपरिषद् बैठकले लोमन्थाङमा सम्भावित युरेनियम खानी सुरक्षार्थ सेना परिचालनको निर्णय गरेको थियो । सन् १९९० तिर मकवानपुरको धियाल–तीनभंगाले क्षेत्रमा पनि युरेनियम सम्भाव्यता अध्ययन गरिएको थियो । तर, यसको संरक्षण र सुरक्षामा सरकारले ध्यान दिएको छैन । युरेनियमलगायत बहुमूल्य खानी क्षेत्र सबैको पहुँचमा समेत नदिने चलन छ ।
नेपालमा पनि युरेनियमको उत्खनन, प्रयोग र बिक्रीसम्बन्धी रेडियोधर्मी पदार्थ ९उपयोग तथा नियमन० ऐन–२०७७ जारी भइसकेको छ । गत असार ११ मा राष्ट्रपतिबाट ऐन प्रमाणिकरण भएको हो । ऐनको दफा ५५ मा ‘नेपालभित्र फेला परेको रेडियोधर्मी पदार्थ वा सोसँग सम्बन्धित पदार्थउपर नेपाल सरकारको स्वामित्व रहनेछ’ भनिएको छ ।
के हो युरेनियम ?
सन् १९४५ को अगस्टमा जापानको हिरोसिमामा एउटा १० मिटर ठूलो बम खस्यो । बम खसेको क्षणभरमै हिरोसिमा सहर नासियो । हजारौं मानिसहरूको ज्यान गयो । यो घटनामै हो संसारले पहिलो पटक देखेको ‘युरेनियम’ को शक्ति । एक केजी युरेनियमबाट दुई लाख मेगावाट इलेक्ट्रोनभोल्ट ऊर्जा उत्पादन हुने अमृत साइन्स कलेजमा भौतिकशास्त्र अध्ययनरत मदन भण्डारी बताउँछन् । युरेनियम प्राकृतिक रूपमा टुक्रिनका लागि पनि धेरै समय लाग्ने गर्छ ।
रसायनशास्त्रमा आधुनिक पेरियोडिक तालिकामा तत्त्वहरूलाई उनीहरूको आणविक संख्याको आधारमा वर्गीकरण गरेर राखिएको छ । उक्त तालिकाको ९२ नम्बरमा छ, युरेनियम अर्थात् ‘यू’ । रेडियोधर्मी पदार्थ भएकाले यसबाट विभिन्न प्रकारका विकिरणहरू आउने भौतिकशास्त्र केन्द्रीय विभागका प्राध्यापक राजु खनाल बताउँछन् । एक हजार १ सय ३२ डिग्री सेल्सियस तापक्रममा पग्लने युरेनियमका ‘यू–२३८’, ‘यू–२३४’, ‘यू–२३५’ जस्ता आइसोटप्सहरू पाइन्छन् । आइसोटप्स भनेको एउटै तत्त्वको धेरै न्युट्रोनहरू हुन्छन् । यू–२३८ प्राकृतिक रूपमा धेरै पाइने गरे पनि यू–२३५ प्रशोधन गरेर निकालिने नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक एवं आणविक पदार्थ विज्ञ बुद्धराम साह बताउँछन् ।
युरेनियम प्राकृतिक रूपमा कम मात्रामा पाइने खनिज भएको उनले बताए । युरेनियम २३८ प्राकृतिक रूपमा पाइने गरे पनि यू–२३५ धेरै कम मात्रामा पाइने उनले सुनाए । आणविक भट्टी केन्द्रहरूमा यू–२३८ लाई टुक्र्याएर यू–२३५ बनाइने गरेको उनको भनाइ छ । यू–२३५ आणविक भट्टीमा प्रयोग हुने गरेको छ ।
‘यू–२३५ सजिलैसँग टुक्र्याउने सकिने भएकाले यो बम बनाउनका लागि प्रयोग हुन्छ,’ वरिष्ठ वैज्ञानिक साहले भने । प्रहरीले बरामद गरेको वस्तु युरेनियम नै हो भने यसलाई यति रकम नै पर्छ भन्न नसकिने बताए । अन्तर्राष्ट्रिय आणविक एसोसिएसनका अनुसार विश्वमा १० प्रतिशत विद्युत् युरेनियम प्रयोग गरिएका आणविक भट्टीहरूबाट उत्पादित हुने गरेको छ । युरेनियम मेडिकल, सैन्यलगायत क्षेत्रहरूमा प्रयोग हुने गर्छ ।
खानी तथा भूगर्भ विभागका प्रवक्ता नारायण बाँस्कोटाले नेपालमा मकवानपुरको तीनभंगाले, मुस्ताङको लोमन्थाङ र बैतडीमा युरेनियमका कणहरू भेटिएको बताए । उनले भने, ‘यी क्षेत्रहरूमा युरेनियमका कणहरू भेटिएकाले हामीले प्रारम्भिक रूपमा अध्ययन गरेका छौं ।’ यो तत्त्व नेपालमा शुद्ध रूपमा पाइन्छ भन्ने सम्बन्धमा बृहत् अनुसन्धान नभएको बाँस्कोटाले बताए । नेपालमा यसको शुद्धता परीक्षण र अनुसन्धान गर्ने सबै उपकरणहरू नभएकाले थोरै अध्ययन भएको उनले बताए ।
‘नेपालमा शुद्ध युरेनियम सम्भावना नै छैन’
नेपाल प्रहरीले बरामद गरेको सामान युरेनियम–२३८ नै भएको बताए पनि विज्ञहरूले त्यसमा आशंका व्यक्त गरेका छन् । नास्टका प्रवक्तासमेत रहेका भौतिकशास्त्री डा। सुरेशकुमार ढुंगेलले प्रहरीले परीक्षणका लागि ल्याइएको पदार्थमा विकिरणको मात्रा असामान्य रूपमा अत्यधिक देखिएको बताए ।
‘परीक्षणका लागि ल्याइएको पदार्थ ठ्याक्कै युरेनियम भन्न सकिने अवस्था नै छैन, विकिरणहरू असामान्य रूपमा छ । यो प्रारम्भिक चरणमै छ,’ उनले भने, ‘प्रहरीले परीक्षणका लागि ल्याएको वस्तु परीक्षण रिपोर्ट नआएसम्म युरेनियम नै हो भन्न सक्ने अवस्था छैन ।’