बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) पुर्ख्यौली पेसा पशुपालन रोजेका काभ्रे मण्डनदेउपुर नगरपालिकाका कृष्णप्रसाद नेपाललाई पशुपालनबाट ऋण लागेर विस्थापित हुनुपर्ने हो कि भन्ने चिन्ता बढेको छ । दूध बिक्री गरेर आफ्नो परिवारका लागि नुन, तेल र गाईभैंसीका लागि दाना, पिठो खरिद गर्दै आएका उनले पछिल्लो समय बिक्री गरेको दूधको पैसा पाएका छैनन् ।

नजिकैको सहकारीमार्फत दुग्ध विकास संस्थान (डीडीसी) लाई दूध बिक्री गर्दै आएका उनले तीन महिनादेखि पैसा नपाएको गुनासो गरे । ‘सरकारी संस्थान भएकाले डीडीसीलाई बिक्री गरिरहेका थियौं तर तीन महिनादेखि पैसा पाएका छैनौं,’ उनले भने, ‘समयमै भुक्तानी नहुँदा नुन, तेल, दाना र मल किन्न समस्या भयो ।’

OM Sai Pathibhara Hospital

मण्डनदेउपुरकै नारदप्रसाद नेपालको भनाइ पनि उस्तै छ । दैनिक २५ देखि २७ लिटर दूध बिक्री गरिरहेका उनले तीन महिनादेखि दूधको पैसा नपाएको सुनाए । ‘पशुलाई समयमै दाना खुवाउन नसक्दा दैनिक ३५ लिटर दूधबाट घटेर २५ मा झरेको छ । पशुपालन गरेपछि पिठो र दाना चाहिन्छ तर साह्रै समस्या भयो,’ उनले भने, ‘दूध फाल्न नमिल्ने, डेरीमा दिए पनि समयमै रकम नपाइने भयो । पैसा नआएपछि पेसाप्रति आकर्षण घट्दो छ ।’

नगरपालिकाले गाईभैंसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानका लागि ६०र४० लागतमा साझेदारी कार्यक्रम ल्याइरहेको छ । सोही कार्यक्रमअन्तर्गत गाईभैंसीपालनमा लाग्ने किसानलाई अनुदान दिने जनाइएको छ । यद्यपि किसानले भने बिक्री गरिरहेको दूधको पैसा पाएका छैनन् । सरकारले तोकेको दूधको दरभाउ पनि पाएका छैनन् । डीडीसीका अनुसार किसानका लागि प्रतिलिटर औसतमा ५२ रुपैयाँ मूल्य तोकिएको छ । किसानहरूले भने प्रतिलिटर ४२ रुपैयाँ मात्रै पाइरहेको गुनासो गरेका छन् ।

किसानका अनुसार डीडीसीले गत साता दुई दिन मिल्क होलिडेसमेत गर्‍यो । ‘एकातर्फ राज्यले अनुदान दिने भनिरहेको छ तर बिक्री गरेकै दूधको मूल्य पाएका छैनौं,’ किसान कृष्णप्रसाद नेपालले भने, ‘अब पशुपालनका लागि लिएको ऋणबाटै विस्थापित हुने अवस्था आउँदै छ ।’

राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले पनि दुग्ध किसानले तीनरचार महिनादेखि भुक्तानी नपाएको जानकारी पाएको बताए । ‘सिन्धुपाल्चोकको मेलम्ची वडा नम्बर ६ का किसानले ३र४ महिनादेखि भुक्तानी नपाएको गुनासो गरेका छन् । भुक्तानी नपाउँदा दूध बिक्री गर्न पनि गाह्रो भइरहेको समस्या आएको छ,’ उनले भने, ‘दूधको समस्या राष्ट्रियस्तरमै देखियो ।’ यसअघि किसानले महिनामा दुईपटक ९१५र१५ दिनमा० भुक्तानी पाइरहेका थिए तर पछिल्लो समय भुक्तानी गर्न आलटाल गरिरहेको किसानको गुनासो छ ।

किसानले नजिकैको सहकारीलाई बिक्री गर्छन् । त्यसपछि दूध डीडीसी र निजी डेरीहरूले उठाउँदै आएका छन् । महासंघका अनुसार दूधको समस्या पनि उखु किसानको जस्तै बन्दै गएको छ ।

डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले क्षेत्रगत आधारमा ५र६ किस्तासम्म दूधको मूल्य तिर्न बाँकी रहेको बताए । अब भने क्रमिक रूपमा भुक्तानी गर्ने उनको दाबी छ । ‘अहिले मुख्यतः पाउडर बिक्री भएन, दूध पनि बढी भयो, बिक्रीकै समस्याले किसानलाई पैसा दिन सकेनौं,’ पौडेलले भने, ‘बजार बढ्न थालेको छ । दहीको माग बढ्न थालेको छ । पहिलो प्राथमिकता किसान नै हुन् । अब क्रमिक रूपमा पठाउन थाल्छौं ।’ उनका अनुसार पाउडर हजार टन मौज्दात छ । बटर पनि पर्याप्त नै छ ।

नगद प्रवाह नहुँदा किसानलाई समयमै भुक्तानी गर्न नसकिएको डीडीसीका योजना तथा बजार व्यवस्था विभाग प्रमुख सञ्जीव झाले जानकारी दिए ।

काभ्रे, सिन्धुपाल्चोक, इलाम, मोरङ, पाँचथर, बुटवल, कपिलवस्तुलगायत जिल्लाबाट दूध संकलन गरिन्छ । यसका लागि किसानलाई मासिक १७ करोड रुपैयाँ भुक्तानी गर्नुपर्छ । औपचारिक रूपमा बिक्री हुने कुल मागको करिब २५ देखि ३० प्रतिशत डीडीसीले धान्दै आएको छ । डीडीसीका अनुसार अहिले औसतमा दैनिक १ लाख ७० हजार लिटर दूध संकलन भइरहेको छ । जसमध्ये ९५ देखि १ लाख लिटर खपत भएको छ । बाँकी कन्भर्सनका लागि पठाउने गरिएको छ । १२ सय दुग्ध उत्पादक सहकारीमार्फत दुई लाख किसान संलग्न छन् । निजीक्षेत्रतर्फ करिब ६ लाख किसान प्रत्यक्ष संलग्न रहेको डेरी उद्योगी बताउँछन् । त्यसमध्ये डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले करिब ४ लाख किसानबाट दुध संकलन गरिरहेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिए । करिब १२ सय दुग्ध उत्पादक सहकारीमार्फत दूध संकलन गरिरहेको डीडीसीका योजना तथा बजार व्यवस्था विभाग प्रमुख सञ्जीव झाको भनाइ छ ।

सरकारी संस्थानसँगै निजी डेरीमा पनि समस्या उही छ । दुई महिनायता किसानलाई भुक्तानी नगरिएको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले जानकारी दिए । ‘मौज्दात बढी छ, त्यही भएर भुक्तानीमा समस्या देखिएको हो,’ उनले भने, ‘आपसी सहमतिमा अहिलेसम्म भुक्तानी गरिरहेका छौं । यसरी बजार व्यवस्थापन गरिरहेका छौं ।’ नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले पनि डेढ महिनाको भुक्तानी गर्न बाँकी रहेको बताए । उनले पनि घिउ, पाउडर दूधलगायत मौज्दात रहेको सुनाए ।