बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) नयाँ सत्तासमीकरणका लागि निर्णायक भूमिकामा रहेको संसद्को चौथो शक्ति जनता समाजवादी पार्टी (जसपा)ले राजनीतिक निकासका लागि अग्रसरता लिन सुझाब दिएको छ । प्रधानमन्त्री केपी ओलीले बिहीबार जसपाका नेतासँग छलफल गर्दै उनीहरूका चासो सम्बोधनमा सकारात्मक रहेको बताएको अर्को दिन जसपाले कांग्रेससँग संवाद गरेको हो । 

कांग्रेससँग औपचारिक छलफलका लागि शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पुगेका जसपाका शीर्ष नेताहरूले प्रमुख प्रतिपक्षी दलको हैसियतले राष्ट्रिय राजनीतिको निकासका लागि कांग्रेसले भूमिका निभाउनुपर्ने मत राखेका थिए । छलफल सकारात्मक भएको र निरन्तरता दिने सहमति भएको कांग्रेस र जसपाका नेताहरूले बताएका छन् ।

OM Sai Pathibhara Hospital

‘करिब एक घन्टा कुराकानी भयो । जसपाका नेताहरूले अहिले कांग्रेसले अग्रसरता लिनुपर्छ र एउटा निर्णयमा पुग्नुपर्छ भन्ने धारणा राख्नुभएको छ । म्यान्डेट पाएको दलले सरकार चलाउन नसकेको अवस्थामा स्वाभाविक रूपमा प्रतिपक्षी दलले अग्रसरता लिनुपर्छ भन्ने उहाँहरूको भनाइ थियो । कांग्रेसले अग्रसरता लिएर अहिलेको अवस्थालाई निकासमा पु¥याउनुपर्छ भन्ने उहाँहरूको जोड थियो,’ छलफलमा सहभागी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘उहाँहरूले अहिलेको अवस्थामा कांग्रेसले निकासका लागि अग्रसरता लिनुपर्छ भन्नुभएको हो । उहाँहरूले कांग्रेसले प्रधानमन्त्री नै लिओस् भन्नुभएको छैन । तर, निकासका लागि कांग्रेसको भूमिका खोज्नुभएकोचाहिँ हो ।’ 

बैठकबाट बाहिरिने क्रममा जसपाका अध्यक्ष महन्थ ठाकुरले वर्तमान संकट टार्न अहिलेको अवस्थामा मिलेर जाने भन्ने विषयमा छलफल भएको बताए । ‘हामीले हाम्रा एजेन्डा राख्यौँ । हाम्रा साथी जेलमा छन्, उनीहरूको रिहाइ गर्नुपर्नेछ, झुटा मुद्दाहरूको फिर्ता र सफाइको विषय छ । नागरिकताको समस्या समाधान हुनुपर्छ, हामीले त्यो भन्यौँ । मिलेर जाऔँ भन्ने हो, तर त्यस्तो कुनै सहमति भएको छैन,’ अध्यक्ष ठाकुरले भने, ‘बृहत् छलफलको आवश्यकता छ, हामी माओवादीसँग पनि छलफल गर्छौँ, त्यसपछि एउटा निष्कर्षको कुरा हुन्छ ।’ 

जसपाको नेतृत्वमा छलफल चलाउने विषयमा छलफल भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा ठाकुरले भने, ‘तपाईंको मुखबाट सुनेँ । यो त खुसीको कुरा हो ।’ तर, अबको प्रधानमन्त्रीमा त तपाईंको नाम चर्चामा छ नि भन्ने अर्को प्रश्नमा ठाकुरले भने, ‘यस्तो राम्रो खबरका लागि तपाईंलाई धन्यवाद । यो त मेरा लागि खुसीको सरप्राइज नै भयो ।’ 

प्रवक्ता शर्माले समसामयिक राजनीतिक संकटका विषयमा छलफलको सुरुवात भएको बताए । ‘आज उहाँहरूसँग मात्रै संवाद भएको हो । संवाद सकेर उठ्दा संवादलाई निरन्तरता दिने र माओवादी केन्द्रसँगको पनि संवाद गरिसकेपछि फेरि पनि बस्ने भन्ने सहमति गरेका छौँ,’ शर्माले भने । 

छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायतका नेता सहभागी थिए । जसपाका तर्फबाट संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो सहभागी थिए ।

जसपाले कांग्रेसले अग्रसरता लिएर निकास दिनुपर्छ भनेको छ, चाँडै परिपक्व समय बन्ने आशा छ : विश्वप्रकाश शर्मा, प्रवक्ता, कांग्रेस

कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीहरूबीच छलफल गरेको छ, बैठकको निष्कर्ष के हो ?

अनौपचारिक बैठक हो, नेताहरूले आ–आफ्नो धारणा राख्नुभयो । तर, कुनै निर्णय भएको छैन । त्यसैले धारणालाई धारणाकै रूपमा बुझ्नुपर्ने हुन्छ । सबै नेताको समान राय व्यक्त भएको छ– प्रधानमन्त्री केपी ओलीजीको सरकारलाई बिदाइ गर्नुपर्छ । र, कांग्रेसले संसद्मा रहेका सबै पार्टीलाई नेतृत्व गरेर अगाडि बढ्नुपर्छ । 

यसको मतलब कांग्रेसले अब आफ्नै नेतृत्वको सरकार बनाउनुपर्छ भन्ने हो ?

नेताहरूले ओलीको बहिर्गमनका लागि कांग्रेसले नेतृत्व गर्नुपर्छ भन्नुभएको छ । तर, कांग्रेस निष्कर्षमा पुगेको होइन । धारणा आउनु र निर्णय हुनु फरक हो । छलफल सुरु भएको छ, सुझाब आएका छन्, राय व्यक्त भएका छन् । 

वार्तामा के–के कुराकानी भयो ?

करिब एक घन्टा कुराकानी भयो । जसपाका नेताहरूले अहिले कांग्रेसले अग्रसरता लिनुपर्छ र एउटा निर्णयमा पुग्नुपर्छ भन्ने धारणा राख्नुभएको छ । म्यान्डेड पाएको दलले सरकार चलाउन नसकेको अवस्थामा स्वाभाविक रूपमा प्रतिपक्षी दलले अग्रसरता लिनुपर्छ भन्ने उहाँहरूको भनाइ थियो । कांग्रेसले अग्रसरता लिएर अहिलेको अवस्थालाई निकासमा पु¥याउनुपर्छ भन्ने उहाँहरूको जोड थियो । 

त्यो भनेको अब कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने हो?

बैठकमा पूरै समय म पनि सहभागी थिएँ । उहाँहरूले अहिलेको अवस्थामा कांग्रेसले निकासका लागि अग्रसरता लिनुपर्छ भन्नुभएको हो । उहाँहरूले कांग्रेसले प्रधानमन्त्री नै लिओस् भन्नुभएको छैन । तर, निकासका लागि कांग्रेसको भूमिका खोज्नुभएकोचाहिँ हो । 

जसपाको चासो के थियो, कांग्रेसले के भन्यो ?

उहाँहरूले उठाएका चारवटा विषयमा हामीले पनि छलफल गरिसकेका थियौँ । उहाँहरूले पनि ती विषय फेरि राख्नुभयो । तर, अहिले नै कांग्रेसको सरकार छ र ती पूरा हुनुपर्छ भन्ने ढंगले सर्तका साथ राख्नुभएको होइन । उहाँहरूले ओलीलाई बिदाइ गर्नुपर्छ भन्दै गर्दा अब बन्ने सरकारले हामीले उठाएका मुद्दा कसरी सम्बोधन गर्छ भन्नेमा आफ्नो मत राख्नुभयो । कांग्रेसका तर्फबाट हामीले मुख्यतः अहिलेको निकासको बाटोमै केन्द्रित भएर कुराकानी राख्यौँ । हामीले अहिले नै सरकारको नेतृत्व लिँदै छौँ, गर्दै छौँ । र, तपाईंहरूका माग हामी पूरा गर्छौँ भन्ने वचनबद्धताका साथ कुरा गरेनाँै । तर, कांग्रेसकै नेतृत्वमा संविधान बनेको हो । त्यसवेला हामीले दुईबुँदे संशोधन प्रस्ताव पनि दर्ता गरेका हौँ । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पनि संविधानको संशोधनको प्रस्ताव गरेका थियौँ । तत्कालीन नेकपा एमालेले समर्थन नगर्दा प्रस्ताव फेल भएको थियो । त्यसकारण तपाईंहरूले नै संविधानप्रतिको दृष्टिकोणको दायरा बढाउनुपर्छ भनेका छौँ । तर, त्यो कुन रूपमा, कसरी भन्ने विषय प्रवेश भइसकेको छैन । 

अरू दलहरूसँग संवाद गर्नेलगायतका विषयमा कांग्रेस अब के गर्छ ?

आज उहाँहरूसँग मात्रै संवाद भएको हो । संवाद सकेर उठ्दा संवादलाई निरन्तरता दिने र माओवादी केन्द्रसँगको पनि संवाद गरिसकेपछि फेरि पनि बस्ने भन्ने सहमति गरेका छौँ । 

अनि कांग्रेस, माओवादी र जसपाको गठबन्धन बन्दै गर्दा कांग्रेसले त्यसको नेतृत्व गर्ने हो कि कांग्रेस अरू पार्टीको नेतृत्व स्विकार्न पनि तयार हुन्छ ?

अहिले हामी त्यो विषयमा प्रवेश नै गरेका छैनौँ, किनभने पार्टीमा आज जम्मा एउटा पदाधिकारीको बैठक भएको हो । त्यसपछि जसपासँग संवाद भएको हो । कांग्रेसभित्र ओलीजीप्रतिको बुझाइमा एकखालको मनोवैज्ञानिक एकताको वातावरण बनेको छ । तर, एकताको वातावरण बन्नु र निर्णय गर्ने फरक हुन् । अब चाँडै परिपक्व समय बन्ने आशा गरौँ । 

संसद् धेरै नचलाउने प्रधानमन्त्रीको सर्तपछि जसपा झस्कियो, ओलीको विकल्प खोज्न तयार 

नयाँ गठबन्धनका लागि निर्णायक मानिएको संसद्को चौथो ठूलो दल जसपा प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नेतर्फ उन्मुख भएको छ । ओली नेतृत्वको सरकारमा जाँदा तत्काल चुनावमा जानुपर्ने अवस्था आउने र प्रतिगमनकारी कदम चालेको व्यक्तिलाई सहयोग गरेको भनेर भोट माग्न अप्ठेरो हुने बुझाइपछि जसपा ओलीको विकल्प खोज्नेतर्फ उन्मुख भएको हो । 

बिहीबार प्रधानमन्त्री ओलीले आफ्नो एउटा माग पूरा गरे जसपाका सबै माग सम्बोधन गर्ने बताएका थिए । स्रोतका अनुसार प्रधानमन्त्री ओलीको जसपा नेतासँग प्रस्ताव थियो, ‘तपाईंहरूका सबै माग पूरा गर्न म तयार छु । चाहिएको मन्त्रालय पनि दिन्छु । सरकारमा सहभागी हुनुहोस् । तर, मेरो एउटा माग छ, यो संसद् धेरै नचलाउँ । चुनावतिर लागौँ ।’

प्रधानमन्त्री ओलीको यो प्रस्तावसँगै जसपाले समीकरणको नयाँ विकल्प सुरु गरेको हो । शुक्रबार सिंहदरबारमा बसेको जसपा संसदीय दलको बैठकमा सहभागी एक नेताले ओलीसँगको सहकार्यले कसैलाई पनि फाइदा नहुने निष्कर्ष निस्केको र यस विषयमा कांग्रेस र माओवादी केन्द्रसँग छलफल गरेर थप निर्णय लिने योजना बनेको बताए । ‘ओलीको पक्षमा लाग्दा संसद् जोगिँदैन भन्ने निष्कर्ष निस्केको छ । ओली पक्षको सरकार रहे पनि एमालेभित्रको अर्को पक्षले उनको साथ छोड्ने सम्भावना धेरै छ,’ उनले भने, ‘ओलीको चाहना संसद् भंग गरेर चुनाव गराउने हो । हामी यो संसद्को कार्यकाल पूरा हुन दिनुपर्छ भन्ने पक्षमा छौँ । त्यसैले ओलीको पक्षमा होइन, त्यसभन्दा बाहिरबाटै समाधान खोजौँ भन्ने कोणबाट छलफल सुरु भएको छ ।’

जसपा नेता तथा कार्यकारिणी समिति सदस्य राजकिशोर यादवले राजनीतिक संकट समाधानका लागि अरू कोही तयार भए पनि नभए पनि वैकल्पिक शक्ति भएका हिसाबले आफैँ पनि तयार हुने विषयमा शुक्रबारको बैठकमा कुरा उठेको बताए । ‘हामी जुन ढंगले वैकल्पिक राजनीतिक शक्तिको दाबी गरिरहेका छौँ त्यहीअनुसार विकल्पको नेतृत्वका लागि दाबी गरौँ भन्ने विषय पनि उठेको छ । बैठकमा बोल्ने धेरै साथीले अन्योल र संकट अरूले पार लगाउँदैनन्, हामी दाबी गरौँ भन्नुभयो,’ नेता यादवले भने, ‘यसले एउटा त सहमतीय राजनीतिको वातावरण बन्छ । अर्को संसद्मा चलिरहेको अंकगणितको खेललाई पनि रोक्छ ।’ 

जसपाका नेताहरूले कांग्रेससँग छलफल गरेर राजनीतिक संकट समाधानका लागि सहकार्य गर्न आग्रह गरेका थिए । सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठक सकिएलगत्तै जसपाका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठ पुगेर संकट समाधानका लागि अग्रसरता लिन प्रस्ताव गरेका थिए ।

बुढानीलकण्ठ जानुअघि सिंहदरबारमा पार्टी संसदीय दलको बैठक सकाएर लामो अनौपचारिक छलफल गरेका थिए । अनौपचारिक छलफलमा ओली नेतृत्वको सरकारमा जान नहुने र सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने विकल्पमा अघि बढ्नुपर्ने विषय उठेको थियो । 

सिंहदरबारको बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेससँगको छलफलमा माओवादी केन्द्रसँग मिलेर ओलीको विकल्प खोज्ने प्रस्तावमा समेत छलफल भएको थियो । संसद्को गणपूरक संख्याको हिसाबले पनि कांग्रेसकै नेतृत्वमा अहिलेको संकट समाधानका लागि अघि बढ्नुपर्ने मत एक हुने वातावरण बनेको ती नेताले बताए । यदि कांग्रेस नेतृत्व गर्न तयार नभए आफूलाई सहयोग गर्न प्रस्ताव गर्ने योजना जसपाले बनाएको उनको दाबी छ । ‘अहिलेलाई तपाईं नेतृत्व गर्नुहोस् पनि नभन्ने, हामी नै गर्छौँ पनि नभन्ने । यद्यपि, अबको दुई वर्ष सरकार हामी मिलेर चलाउँ भनेर प्रस्ताव राख्ने कुरा भएको छ,’ उनले भने, ‘तर, ओलीले चाहेजस्तो अहिले नै संसद् विघटनको बाटोमा जान नदिने भन्नेमा पार्टीभित्र एकमत छ ।’

शीर्ष नेताले देउवालाई भने– तपाईं प्रधानमन्त्री बन्नुस्

कांग्रेसका शीर्ष नेताहरूले सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व गरेर वर्तमान राजनीतिलाई निकास दिन सुझाब दिएका छन् । देउवाले सत्ता सहकार्यका विषयमा जसपाका नेतासँग छलफल गर्नुअगाडि पार्टीका पदाधिकारी, केही पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यलाई बोलाएका थिए । तर, बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल भने सहभागी थिएनन् ।

बैठकमा नेताहरूले देउवालाई ओलीको बहिर्गमन गर्ने गठबन्धनका लागि भूमिका खेल्दै नयाँ सरकारको नेतृत्व गरेर अघि बढ्न सुझाब दिए । ‘सत्तारुढ पार्टीले काम गर्न नसकेको अवस्थामा स्वाभाविक रूपमा प्रतिपक्षीले नेतृत्व लिन तयार हुनुपर्छ । तपाईंले प्रधानमन्त्री बनेर यो संकटको निकास दिनुपर्ने हुन्छ,’ बैठकमा नेता कृष्णप्रसाद सिटौलाले भनेका थिए ।

देउवासँग छलफल गर्नुअघि संस्थापनइतरका नेताहरूको बैठक बसेको थियो । नेता सिटौला, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितले महामन्त्री डा। शशांक कोइरालाको निवास महाराजगन्जमा बसेर ओलीको विकल्पका रूपमा नयाँ सरकार गठनका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने निष्कर्ष निकालेका थिए । देउवासँगको छलफलमा नेता सिटौला र महामन्त्री कोइरालाले पौडेलको समेत सोही धारणा रहेको सुनाएका थिए ।

‘नेताहरूले सभापतिज्यूलाई प्रधानमन्त्री बनेर पार्टी, देश र संविधान कार्यान्वयनको पक्षमा गठबन्धनको नेतृत्व गर्न सुझाब दिएका छन्, सरकारमा जाने विषयमा पार्टीभित्र पूर्ण सहमतिको वातावरण बनेको छ,’ बैठकपछि देउवानिकट एक नेताले भने । प्रवक्ता विश्वप्रकाश शर्माले ओलीको विकल्प खोज्ने विषयमा पार्टीले खुला रूपमा छलफल गरेर नेतृत्व लिनुपर्ने विषयमा छलफल भएको बताए । ‘सबै नेताको समान राय व्यक्त भएको छ– प्रधानमन्त्री केपी ओलीजीको सरकारलाई बिदाइ गर्नुपर्छ । र, कांग्रेसले संसद्मा रहेका सबै पार्टीलाई नेतृत्व गरेर अगाडि बढ्नुपर्छ,’ शर्माले भने । 

पूर्वसहमहामन्त्री डा. रामशरण महतले कांग्रेस नभई नयाँ सरकार नबन्ने अवस्थामा आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने बताए । ‘एमाले र माओवादीकै सरकार छ । अब माओवादीले विश्वासको मत फिर्ता लिइहाल्यो भने नयाँ सरकारको कुरा हो,’ उनले भने, ‘त्यसवेला कुन–कुन पार्टी मिल्ने कुरा मात्रै होइन, विषयगत सहमति र संविधानको कार्यान्वयनका लागि समेत सहमति गरेर जानुपर्छ । पार्टी र देशलाई फाइदा हुने गरी कांग्रेसले नयाँ सरकार निर्माणका लागि भूमिका खेल्नुपर्छ ।’

देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्माले भने कांग्रेस लचिलो भएर पनि ओलीको बहिर्गमनका लागि गठबन्धन गर्नुपर्ने बताए । ‘सत्तारुढ दलबाहेकको गठबन्धन बनाउने कुरा एउटा हो, त्यसपछि कसको नेतृत्व भन्ने नाममा सहमति हुन्छ, जसको नाममा सहमति हुन्छ, उसको नेतृत्वमा अगाडि जान कांग्रेस तयार छ,’ विश्वकर्माले नयाँ पत्रिकासँग भने, ‘प्रमुख प्रतिपक्षी भएको हिसाबले त्यसमा कांग्रेसको पहिलो हक लाग्छ, नभए एउटा सहमतिअनुसार शक्ति बाँडफाँड गर्ने कुरा हो ।’