बिर्तामोड ( नागरिक दैनिकबाट ) रौतहटको मौलापुर गाउँको भिडियो यति भाइरल भयो कि जिन्दगीमै नसोचेको प्रचार शिवकलीले पाइन्। प्रचार त पाइन् तर यतिबेला उनलाई पछुतो पनि लागिरहेको छ। महाशिवरात्रिको अवसरमा मधानी महायज्ञ लगाउन ठाउँ आवश्यक परेपछि स्थानीय तहको सरसल्लाहमा शिवकली मात्र होइन, छिमेकीको गहुँ र तरकारी बाली मास्ने निर्णय गरिएको थियो। निर्णय त भयो तर यस निर्णयबाट बेखबर शिवकली अचानक खेतमा डोजर चलेपछि भक्कानिइन्। उनलाई रुन मन लाग्यो।

त्यसपछि त के थियो र रु निरीह शिवकली हातमा कचिया लिएर उभिएकी थिइन्, क्यामेरा देखेपछि उनको भक्कानो छुट्यो। उनलाई बालीको माया लागेर आयो र क्यामेराअगाडि भक्कानिइन्। उनको भक्कानोलाई केहीले भाइरल बनाउने मौका पाइहाले। यतिबेला स्वयं शिवकलीले स्पष्टीकरण दिँदै हिँड्नुपरिरहेको छ, ‘जबर्जस्ती बाली मासिएको होइन, मेला लागेकामा म खुसी नै छु।’

OM Sai Pathibhara Hospital

भिडियोमा के थियो  ? 

भिडियोमा लहलहाउँदो गहुँबालीमा निकै तीव्र गतिमा डोजर चल्छ। एकै छिनमा गहुँबाली सोत्तर बन्न पुग्छ। यस घटनाको रमिता हेरिरहेका केही स्त्रीपुरुषमध्ये एकजना महिला यो दृश्यपछि भिडियोमा  देखापर्छिन् र कहालिएर सबै सकियो, बर्बाद भयो भनेर रुन थाल्छिन्। तर प्रभु शाहको पहलमा मेला लाग्ने यस कुरामा भने केही किसानलाई जति मुआब्जा दिने भनी निर्णय गरिएको थियो, त्यसमा किसान खुसी भने देखिँदैनन्।  

मुआब्जा कम भएको उनीहरूको गुनासो भिडियोमा सुनिन्छ। नेपाल वाणी नामबाट फेसबुकमा भाइरल भएको सो भिडियो आठ दिनको अवधिमा ३ हजारभन्दा बढी पटक सेयर भएको देखिन्छ। १ हजारभन्दा बढीले रियाक्ट गरेका छन्। तीमध्ये लगभग ३ सयको कमेन्ट देखिन्छ।

के भएको थियो?

मौलापुर मेला आयोजक समितिले गाउँकै स्थानीय र गाउँटोलका अगुवा बसेर यस वर्ष मेला लगाउने ठाउँ निधारयो। अघिल्लोपटक पनि त्यहाँ त्यसरी नै मेला लाग्ने गरेकाले शिवकली लगायत अन्य आठ जनाकै खेत छनोटमा प¥यो। खेतमा मसुरो, गहुँ, प्याज तथा अन्य बाली लगाइएको थियो। सो बालीको प्रतिकट्ठाको दरले क्षति मूल्यांकन गर्दै मुआब्जा पनि निर्धारण गरियो। तर ती सबै प्रक्रियामा शिवकली सहभागी थिइनन्। उनका पति कामेश्वर शाह र छोरा कृष्ण शाहले सहभागिता जनाएको यस पञ्चायतीबाट बेखबर उनलाई खेतमा डोजर चल्दा भक्कानो छुट्यो।

उनको भिडियो भाइरल भएपछि भने स्थानीय तह र नगर कार्यपालिकाका सदस्य दबाबमा परे। आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भाइरल भिडियोको पछाडि नलाग्न अनुरोधसमेत गरियो। यसका अतिरिक्त किसानलाई क्षतिपूर्ति दिने निर्णय भइसकेको समेत बताइयो। यता मेला समितिले पनि मेला लाग्ने वरपरका स्थानीयसित बसेर मसुरोको प्रतिकट्ठा १ हजार ५ सय, गहुँको प्रतिकट्ठा २ हजार ५ सय र प्याजको प्रतिकट्ठा ३ हजार ५ सय मूल्य निर्धारण गरेर नगरपालिकालाई जानकारी गराएको र सोहीअनुसार नगरपालिकाले निर्णय गरेर किसानलाई मुआब्जा उपलब्ध गराएको मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी गराएका छन्।

प्रतिकट्ठा २ हजार ५ सय रूपैयाँको दरले गहुँको मुआब्जा निर्धारण गरिएकोमा शिवकलीको चार कट्ठा खेतमा गहुँबाली लगाइएको र सबैको सहमतिअनुसार मेला समितिले ५ हजार रूपैयाँ मुआब्जा दिने निर्णय भएको तर रकम भने आफूहरूले पाउन बाँकी रहेको शिवकलीले बताएकी छन्। उनका छिमेकीहरूले भने क्षतिपूर्ति रकम निकै कम भएको गुनासो गरेका छन्।

भाइरल बनेकी शिवकलीले  भनिन्, ‘खेतको बाली बलजफ्ती कब्जा गरी काटेको नभई पूर्वसहमतिमै काटिएको हो तर जब आफूले मिहिनेत गरी उब्जाएको बालीमा डोजर चल्न थाल्यो मलाई रुन आयो। भावुक भएँ। बालीको माया लाग्दैन त रु’ तर भावनामा बगेको कुरालाई केही मिडियाले उछालेको शिवकलीको आरोप छ।

गाउँमा मेला लाग्नु अत्यन्तै खुसीको कुरा भएको र आफूहरूले मेलाको कहिल्यै विरोध नगरेको शिवकली बताउँछिन्। मेला समितिले मौलापुर–५ पतौराका हेमन साहको एघार कट्ठा, भागिरथी साहको आठ कट्ठा, नगिया देवीको चार कट्ठा, काशी साहको तीन कट्ठा, जमिरी साहको १२ कट्ठा, कामेश्वर साहको सात कट्ठा, शंकर साहको दुई कट्ठा, रमाकान्त साहको तीन कट्ठा, जियालाल साहको आठ कट्ठा खेत महाशिवरात्रिको अवसरमा मधानी महायज्ञ तथा मेला लगाउन खाली गराएको नगर कार्यपालिकाको भनाइ छ।