बिर्तामोड ( कारोवार दैनिकबाट )  बैंकहरु कर्जा प्रवाहमा आक्रामक भएसँगै ब्याजदर बढ्ने संकेत देखिएको छ । कोरोना महामारीको असर कम हँुदै जाँदा बैंकहरुले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहमा तिव्रता दिएपछि बैंकिङ प्रणालीमा रहेको तरलता (लगानीयोग्य पुँजी) घट्दै गएको छ । जसका कारण बैंकको ब्याजदर बढ्ने संकेत देखिएको हो ।

नेपाल बैंकर्स संघका अनुसार फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप ३७ अर्ब रुपैयाँ वृद्धि हुँदा ७१ अर्ब कर्जा लगानी गरेका छन् । माघमा पनि निक्षेप ५ अर्बले मात्र बढ्दा कर्जा ७४ अर्ब रुपैयाँले वृद्धि भएको थियो ।

OM Sai Pathibhara Hospital

फागुन २१ गतेसम्म आउँदा बैंकहरूले कूल ३८ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३३ खर्ब ८८ अर्ब कर्जा लगानी गरेका छन् । माघ मसान्तसम्म बैंकहरूको कुल निक्षेप ३७ खर्ब ८६ अर्ब र कर्जा ३३ खर्ब १७ अर्ब थियो ।

कोरोना महामारीका कारण लामो समय व्यवसाय विस्तार गर्न नपाएका बैंकहरुले पछिल्लो समय कर्जा प्रवाहलाई प्राथमिकता दिएका छन् । यस्तै कोभिडको प्रकोप कम भएसँगै आर्थिक गतिविधि पनि बढ्दै गएकाले कर्जाको माग बढेको बैंकरहरु बताउँछन् ।

तर, कर्जा विस्तारको तुलनामा निक्षेप वृद्धि नभएपछि बैंकमा तरलताको चाप बढ्दै गएको छ । जसका कारण अन्तर बैंक ब्याजदर समेत बढ्न थालेको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्ट बैंकहरुमा निक्षेप र कर्जा वृद्धिको अन्तरले बैंकहरुमा तरलता घट्दै गएको बताउँछन् । यसले बैंकको ब्याजदरमा दबाब सिर्जना गर्ने उनको भनाइ छ ।

पुसमा बैंकिङ प्रणालीमा २ खर्ब तरलता रहेकोमा अहिले ४० अर्ब रुपैयाँमा झरेको छ । तरलता कम हुँदै गएपछि अन्तर बैंक ब्याजदर पनि ३ प्रतिशत पुगेको छ । एक वर्षअघि ५ प्रतिशत हाराहारीमा पुगेको अन्तर बैंक ब्याजदर साउनमा ०.०१ प्रतिशतसम्म झरेको थियो । पछिल्लो एक महिनायता पुनः बढ्न थालेको ब्याजदर फागुन २५ गते २.९७ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

कोभिडका कारण उद्योग व्यवसायमा नयाँ लगानी नभए पनि बैंकहरुको कर्जा उच्च दरमा वृद्धि हुनु जोखिमपूर्ण रहेको व्यवसायीहरुले आंैल्याउँदै आएका छन् । राष्ट्र बैंकका अधिकारीहरु भने यसबारेमा विश्लेषण भइरहेको बताउँछन् । “हामी सात महिनाको तथ्यांक विश्लेषण गरिरहेका छौं,” प्रवक्ता भट्टले भने, “त्यसपछि मात्र अहिलेको अवस्थाबारे भन्न सक्छौं ।”

राष्ट्र बैंकले चालू आवको पुससम्मको तथ्यांकमा पनि बैंकहरुबाट छोटो अवधि र व्यक्तिगत प्रयोजनमा खर्च गर्न सकिने प्रकृतिका कर्जा लगानीमा जोड दिएको देखिन्छ । राष्ट्र बैंकका अनुसार पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ११.५ प्रतिशत, ओभरड्राफ्ट १३.४ प्रतिशत, डिमाण्ड तथा चालू पुँजी कर्जा १३.६ प्रतिशत, रियल स्टेट कर्जा ४ प्रतिशत, मार्जिन प्रकृति कर्जा ५०.२ प्रतिशत र ट्रष्ट रिसिट(९आयात) कर्जा ५.६ प्रतिशतले बढेको छ ।