बिर्तामोड ( कारोवार दैनिकबाट ) बाली लगाउने बेलामा चरम अभाव भएको रासायनिक मल पाक्ने बेलामा भने भित्रिएको छ । गहुँ छर्ने र गोड्ने बेलामा अभाव रहेको मल अहिले बल्ल पाक्ने बेलामा नेपाल आइपुगेको हो । हिउँदे बालीलाई लक्षित गरेर सरकारले मल ल्याउनुपर्ने थियो । तर अब धानलगायत बर्खे बालीको लागि उपयोग हुने भएको छ ।

कृषि सामग्री लिमिटेडका अनुसार बंंगलादेशबाट ल्याउन लागिएको ५० हजार टन रासायनिक मलमध्ये पहिलो चरणमा मंगलबार २५ सय ४० टन वीरगञ्जमा आइपुगेको छ । बंगलादेशबाट जिटुजीमार्फत ल्याउन सम्झौता भएअनुसार पहिलो चरणको २२ हजार टनमध्ये २५ सय ४० टन मल आइपुगेको हो । लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले बाँकी मल १५ दिनभित्रमा आइपुग्ने बताए । कम्पनीसँग अहिले पर्याप्त मात्रामा मल रहेकाले अभाव नहुने उनको दाबी छ ।

OM Sai Pathibhara Hospital

धान रोप्ने बेला बजारमा मलको हाहाकार भएपछि मन्त्रालयले साउन–भदौमै नेपाल आइपुग्ने गरी आपतकालीन अवस्थामा पैंचोमा मल ल्याउन खोजेको थियो । तर, सिजनमा ल्याउन सकेन । ६ महिनापछि मल आयात भएको हो ।

बंगलादेशकै मल आयात गर्न कृषि सामग्री कम्पनीले टेण्डर प्रक्रियामार्फत संयुक्त अरब इमिरेट्स ९यूएई० को कम्पनी जेन्ट्रेड एफजेडएफलाई जिम्मा दिएको छ । कृषि सामग्रीले गत असोज ३ मा ग्लोबल टेण्डर प्रकाशन गरेको थियो । पाँच वटा कम्पनीको टेण्डर आवेदन परेकामा जेन्ट्रेडले सबैभन्दा कम मूल्यमा ढुवानी गर्ने प्रस्ताव गरेको थियो ।

सरकारले चालू आर्थिक वर्षका लागि मल खरिद गर्न ११ अर्ब बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट करिब पाँच लाख टन ९युरिया मल २ लाख ८२ हजार ५ सय, डीएपी २ लाख २ हजार ५ सय र पोटास १५ हजार टन० आयात गर्ने जनाएको छ । त्यसमध्ये चालू आर्थिक वर्षमा १ लाख ८७ हजार टन मल बिक्री भइसकेको छ । १ लाख ६२ हजार टन स्टक र नेपाल भित्रिने क्रममा छ ।

गत पुस २ गते नेपालले बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेसनसँग जीटुजीमार्फत ५० हजार टन मल ल्याउने सम्झौता गरेको थियो । नेपालले बंगलादेशसँग प्रतिटन २५९।१९५ अमेरिकी डलरमा उक्त परिमाणको मल खरिदको सम्झौता गरेको थियो ।

मुलुकमा वार्षिक सात लाख टन रासायनिक मलको माग छ । मागअनुसार मलको आयात नहुँदा किसानले धान रोप्ने सिजनमा मलको अभाव खेप्दै आएका छन् ।

यसैबीच साल्ट ट्रेडिङ कर्पोरेशनले ल्याएको १० टन चिनियाँ रासायनिक मल नेपाल आइपुगेको छ । सरकारले पहिलो पटक चिनियाँ नाका तातोपानी हुँदै मल ल्याएको हो । सो नाकाबाट परीक्षणका रुपमा चार हजार टन मल आयात गर्दैछ । उत्तरी नाकाबाट चार हजार टन रासायनिक मल ल्याउन लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।

तातोपानी नाका भूकम्पका कारण बन्द भएपछि कोलकाता हुँदै वीरगञ्ज र भैरहवा नाकाबाट ल्याउने गरिएको थियो । सिल्क मार्केट कम्पनीले मल ल्याउने ठेक्का पाएको थियो । कम्पनीले गत हप्ता नै चीनको सिगात्सेमा मल ल्याएर राखेको थियो ।