बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट ) नेपाल दाना उद्योग संघले कुखुराको दानाको मूल्य बढाउने तयारी गरेको छ । दाना उत्पादनका लागि आवश्यक कच्चापदार्थको मूल्य बढेपछि संघले यस्तो तयारी थालेको हो । यसअघि गएको माघमा समेत प्रतिकिलो २ रुपैयाँका दरले दानाको मूल्य बढाएको संघले पुनः प्रतिकिलो २ रुपैयाँ मूल्य बढाउने भएको छ ।

अहिले अन्तरराष्ट्रिय बजारमै दाना उत्पादनका लागि आवश्यक पर्ने मुख्य कच्चापदार्थ ९भटमास०को मूल्य र यसको ढुवानी भाडादर समेत बढेको संघले बताएको छ । सोहीकारण दानाको मूल्य बढाउनैपर्ने अवस्था आएको नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले बताए । ‘अबको २ साताभित्र मूल्य बढाउने तयारी गरिएको छ,’ उनले भने ।

OM Sai Pathibhara Hospital

भटमासको मूल्य अझ बढ्ने सम्भावना रहेकाले दानाको मूल्य अबको महीनामै बढ्न सक्ने संकेत उनले गरे । उनका अनुसार मङ्सिरमा प्रतिकिलो ६५ रुपैयाँ रहेको भटमासको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ । अहिले भटमासको मूल्य बढ्नुपर्ने खास कारण नभए पनि अन्तरराष्ट्रिय बजारमा मूल्य बढेको बहानामा व्यापारीहरूले मूल्यवृद्धि गरेको बताइएको छ ।

अहिले ‘बी जिरो’ दानाको मूल्य प्रतिकिलो ६२ रुपैयाँ, ‘बी वान’को मूल्य प्रतिकिलो ६१ रुपैयाँ, ‘बी टू’को मूल्य प्रतिकिलो ६० रुपैयाँ र ‘बी थ्री’को मूल्य प्रतिकिलो ५९ रुपैयाँ छ । मूल्य बढेसँगै सबै प्रकारको दानाको प्रतिकिलो मूल्य क्रमशः ६४, ६३, ६२ र ६१ रुपैयाँ पुग्नेछ ।

नेपालमा दाना बनाउन प्रयोग गरिने भटमास र मकै अमेरिका, ब्राजिल, भारत लगायत देशबाट आयात गरिन्छ । दानाका लागि वार्षिक मागको ९९ प्रतिशत भटमास र ७० प्रतिशत मकै बाह्य मुलुकबाटै आयात गर्नुपर्ने अवस्था छ ।

चल्ला उत्पादन घट्यो

पछिल्लो समय कुखुराका चल्लाको उत्पादन घटेको छ । लामो समयसम्म भएको बन्दाबन्दीका कारण ह्याचरी व्यवसायीले समयमै प्यारेन्ट चल्ला ९माउ कुखुराका चल्ला०का लागि चल्ला आयात गर्न नसक्दा चल्ला उत्पादन घटेको बताइएको छ । नेपाली चल्ला उत्पादक व्यवसायीले थाइल्यान्डबाट ब्रोइलर र लेयर्स जातका कुखुराका प्यारेन्ट चल्ला आयात गर्छन् । ह्याचरी उद्योग संघका अनुसार अहिले नेपालमा प्रतिहप्ता करीब २८ लाख चल्ला उत्पादन भइरहेको छ । यद्यपि चल्लाको कुल माग भने प्रतिहप्ता ४२ लाख रहेको संघका अध्यक्ष टीकाराम पोखरेलले बताए ।

उत्पादन घटेकाले बजारको माग धान्न नसकिएको उनको भनाइ छ । उनका अनुसार भर्खरै मात्र माउ चल्लाको आयात गरी त्यसलाई अण्डा उत्पादनका लागि पालिएको छ । अहिले आयात भएका प्यारेन्ट चल्लाले आउँदो कात्तिकपछि मात्रै अण्डा दिन थाल्ने भएकाले त्यति बेलासम्म चल्ला उत्पादन बढ्न नसक्ने पोखरेलको भनाइ छ । चल्ला उत्पादन घटेकाले मासु प्रयोजनका कुखुराको समेत उत्पादन घटेको छ । त्यसको प्रत्यक्ष प्रभाव कुखुराको मासुको मूल्यमा परेको पोल्ट्री नेपाल व्यवसायी महासंघले बताएको छ । केही साताअघि प्रतिकिलो ३० रुपैयाँ घटेर ३४० रुपैयाँ रहेको ब्रोइलर कुखुराको मासुको मूल्यको मूल्य बढेर अहिले पुनः ३७० रुपैयाँ नै कायम भएको छ ।