बिर्तामोड / पूर्व माओवादीहरुले आज २६ औं जनयुद्ध दिवस मनाउँदैछन् । दिवसको अवसरमा काठमाडौंको पेरिसडाँडासहित देशभर बिभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।


OM Sai Pathibhara Hospital

गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो ।


रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी माओवादीले जनयुद्धको सुरु भएको घोषणा गरेको थियो ।


आठबिसकोट प्रहरी चौकी आक्रमणको नेतृत्व गरेका गणेशमान पुन (रश्मी) भन्छन्, ‘भरुवा बन्दुकको घरमा चौकी आक्रमणमा जानु चुनौतीसँगसँगै पार्टीले मलाई गरेको विश्वासप्रति गर्व महसुस भएको थियो ।’ बिहानपख २ बजे माओवादीहरुले आठबिसकोट चौकीबाट हतियार तथा बन्दोबस्दीका समान कब्जामा लिएका थिए ।


नेकपा माओवादीका तत्कालीन महामन्त्री प्रचण्डले प्रेस वक्तव्यमार्फत् जनयुद्ध सुरु भएको घोषणासहित गरिएका फौजी कारबाहीहरूको जिम्मेवारी लिएका थिए । जनयुद्धलाई सघाएको आरोपमा प्रहरीले गोरखाका १४ वर्षीय दिलबहादुर रम्तेललाई गोली हानी हत्या गरेको थियो ।


उनै रम्तेललाई जनयुद्धको पहिलो सहिदको सम्मान दिने गरिएको छ । त्यसपछि फागुन १५ गते प्रहरीले रुकुमको पिपलमा ६ जना खत्री बन्धुहरुको सामूहिक हत्या गरेको थियो ।बदला र प्रतिशोधका कारण सरकार र विद्रोही माओवादीबीच हत्याका श्रृंखला चलेका थिए ।


तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकमा जारी द्वन्द्वलाई देखाएर सत्ता हातमा लिएपछि माओवादी र प्रमुख सात राजनीतिक दलहरुबीच १२ बुँदे सहमति भएको थियो । सोही सहमतिअनुसार २०६२ चैत २४ गतेदेखि २०६३ वैशाख ११ सम्म चलेको १९ दिने जनआन्दोलनले संसद पुनःस्थापना गरेको थियो ।


यहीबीचमा २०६३ मंसिर ५ गते माओवादी युद्ध अन्त्य गर्दै शान्ति प्रक्रियामा आएको थियो । विस्तृत शान्ति सम्झौतामा राष्ट्राध्यक्षको समेत कार्यभार सम्हालेका तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए । पुनःस्थापित संसदले २०६५ जेठ १५ गते नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरेको थियो ।