काठमाडौं – सर्वोच्च अदालतमा तीन न्यायाधीशले सपथ लिएका छन् ।
मंगलबार नवनियुक्त न्यायाधीशहरू श्रीकान्त पौडेल, शान्तिसिंह थापा र मेघराज पोखरेलले सपथ ग्रहण गरेका हुन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन न्यायाधीश नियुक्त गरेका थिए ।
मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायधीश प्रकाशमान सिहं राउतले नवनियुक्त न्यायाधीशहरू पौडेल, थापा र पोखरेलले सपथ ग्रहण गराएका हुन् ।
न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट सोमबार अनुमोदन गरिएका उनीहरुलाई राष्ट्रपतिले नेपालको संविधानको धारा १२९(२) बमोजिम नियुक्त गरेका थिए ।
शपथ समारोहमा प्रधानन्यायधीश सिंह राउतले नवनियुक्त न्यायधीशहरु जनताको लागि इमान्दारिताका साथ खटिने आशा गरेको बताए । उनले थप उर्जाका साथ छिटोछरितो रुपले काम गर्ने पनि विश्वास व्यक्त गरे ।
‘न्यायिक सेवा छिटोछरितो प्रभावकारी बनाउन सरकारले दिएको दायित्व निर्वाह गर्नुपर्नेछ । संविधानले व्यवस्था गरेको २१ जना मध्ये अहिले हामी २० जना भएका छौं । अब २० जनाले काम गर्दा परिणाम राम्रो आउनेछ । एकदमै उर्जावान न्यायधीशहरुलाई नियुक्त गर्ने अवसर मिलेको छ ।’