झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट फुटेको पार्टी माधव नेपाल–पुष्पकमल दाहाल समूहमा अहिले पार्टीभित्रनै मतभेद देखिन थालेको छ । 


OM Sai Pathibhara Hospital

वि. सं. २०७७ माघ १९ गते बसेको स्थायी समिति बैठकले विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेपछि नयाँ महासचिव मनोनयनमा पार्टी भित्रनै मतभेद देखिन थालेको हो । पार्टीका नेताहरुले आफ्नो निकट व्यक्तिलाई सचिव बनाउन लागिरहेका छन् । महासचिवका लागि पुष्पकमल दाहालको निकट व्यक्ति वर्षमान पुन र जनार्दन शर्मा दैडधुप गिररहदा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि महासचिव हुन विभिन्न कसरत सुरु गरेका छन् । 


माओवादी कित्ताका तीन जना नेताले पार्टी महासचिवका लागि कसरत गरी रहँदा साविक एमाले कित्ताका वेदुराम भुषालेदेखि घनश्याम भुषाल तथा सुरेन्द्र पाण्डे र भीम रावलले समेत महासचिवमा दाबेदारी पेश गरेका छन् । सुरेन्द्र पाण्डेलाई महासचिव बनाउनु पर्छ भन्ने अडानमा झलनाथ खनाल रहेका छन् । र, पाण्डेप्रति नेता माधव नेपालको पनि केही हदसम्म समर्थन रहेको श्रोत बताउछ । 


 अध्यक्षका लागि झलनाथ खनालले नै माधव नेपालको नाम प्रस्ताव गरेको कारणले गर्दा पनि खनालले अगाडि सारेको सुरेन्द्र पाण्डेका सम्बन्धमा ठाडो विरोध गर्ने पक्षमा नेता नेपाल छैनन् । यस बाहेक सम्पन्न ९ औं महाधिवेशनमा सुरेन्द्र पाण्डे माधव नेपाल प्यानलबाट नै महासचिवमा उम्मेदवार भएका थिए ।

 

केही भोटले मात्र ईश्वर पोखरेलस“ग पराजित भएका थिए । यो कारणले गर्दा पनि माधव नेपाल सुरेन्द्र पाण्डेको ठाडो विपक्षमा जान सक्ने अवस्था छैन । तर नेता नेपालको भित्रि इच्छा भने आफू निकटको भीम रावललाई महासचिव बनाउने रहेको छ । 


यसैगरी पार्टीको महासचिवमा साविक माओवादी कित्ताका जनार्दन शर्मादेखि वर्षमान पुनसम्मले कसरत गरिराखेका छन् र पार्टी प्रवक्ता छाडेर महासचिव हुने कसरतमा नारायणकाजी श्रेष्ठ पनि लागि परिराखेका छन् । पार्टीको महासचिव पदका लागि आधा दर्जन भन्दा बढी नेताले कसरत गर्न थालेपछि अध्यक्ष दाहालसँगै नेताद्वय नेपाल र खनालले यस सम्बन्धमा कुनै निर्णय गर्न सकेका छैनन् ।  महासचिव पदलाई लिएर विवाद नचर्कियोस् भनेर तीन नेताले पार्टीको वैधानिकताका सम्बन्धमा निर्वाचन आयोगले निर्णय गरेपछि मात्र प्रक्रिया अगाडि बढाउने सहमति गरेका छन् । 


विधान संशोधन गरेर केही उपाध्याक्ष र सचिव पद थप्न सकिने बारेमा पनि छलफल चल्न थालेको छ । ९ जनाको सचिवालयमा पनि ४ जनामात्रै छन् । सचिवालयमा ककसलाई बढुवा गर्ने भन्नेमा पनि टुंगो लागेको छैन । भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली पहिला उपाध्यक्ष भइसकेका नेता भएका कारण उनी स्वतः सचिवालयको दावेदार हुन् ।

 

त्यो अवस्थामा पूर्वमाओवादी समूहबाट सचिवालयमा प्रचण्ड र नारायणकाजीमात्रै हुने संभावना हुन्छ ।  त्यसो भएकोेले सचिवालयको संख्या कसरी मिलाउने भन्ने पनि समस्या छ । सचिवालयमा आउनलाई पूर्वमाओवादीबाट वर्षमान पुन, कृष्णबहादुर महरा, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, पम्फा भुसालहरुको दाबी रहने देखिन्छ । 

 

चर्को नीतिगत मतभेद


महासचिवको चयनका सम्बन्धमा तीन नेताका बिचमा विवाद भई रहँदा नीतिगत र कार्यदिशाका सम्बन्धमा पनि तीन नेताका बिचमा विवाद देखिन थालेको छ । अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतबाट संसद पुनर्स्थापनाको पक्षमा निर्णय नआए त्यो निर्णय स्वीकार्य नहुने चेतावनी सार्वजनिक रुपमा नै दिन थालेका छन् ।

 

यसैगरी अध्यक्ष दाहालले शान्तिपूर्ण आन्दोलनलाई परित्याग गरेर हिंस्रक आन्दोलनमा जाने संकेत गर्दै शान्तिपूर्ण आन्दोलने त्यागेर हिंसात्मक आन्दोलन गर्नेसम्मको चेतावनी दिएका छन् । तर सर्वोच्च अदालतको निर्णय आफ्नो पक्षमा नआए त्यसलाई स्वीकार नगर्ने चेतावनी नेता नेपाल र खनालले अहिलेसम्म दिएका छैनन् । 


 यसैगरी शान्तिपूर्ण आन्दोलन छाडेर हिंसात्मक आन्दोलन गर्ने चेतावनी नेता नेपाल र खनालको मुखबाट अहिलेसम्म आएको छैन । विधिको शासनलाई स्वीकार गरेको दलका अध्यक्ष प्रचण्डले नै सर्वोच्च अदालतको निर्णयलाई अस्वीकार गर्ने भनेर दिएको चेतावनीप्रति नेता नेपाल र खनाल सन्तुष्ट देखिएका छैनन् ।

 

यसैगरी शान्तिपूर्ण आन्दोलन परित्याग गरेर हिंसात्मक आन्दोलन गर्ने अध्यक्ष दाहालको चेतावनीप्रति पनि नेता नेपाल र खनाल असन्तुष्ट रहेका छन् । तर अहिलेको अवस्था आफू बिचको असहमति सार्वजनिक गर्ने नभएको कारणले गर्दा नेताद्वय माधव नेपाल र झलनाथ खनालले मुख नखोलेको हुन् भनिन्छ ।