काठमाण्डौ । देशभर मनसुनी वायु सक्रिय रहँदा आज पनि अधिकांश भूभागमा बदली र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा मौसम सामान्यदेखि पूर्ण बदली भएको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।  उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि पूर्वानुमान गरिएको छ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।