देवेन्द्र किशोर \ रसुवाको नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोले केही क्षणमै एउटा सीमावर्ती भूगोललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय चिन्ताको विषय बनायो। हिमाली 

क्षेत्रमा आएको आकस्मिक प्राकृतिक विपद्ले रसुवाका बस्ती, सडक, पुल, व्यापारिक तथा सीमा संरचना प्रभावित बनाउनुका साथै यसको प्रत्यक्ष र अप्रत्यक्ष असर चीनको तिब्बत र भारतसम्म पनि जोडिएको देखियो। प्रकृतिको एउटा घटनाले सीमाना, राज्य र प्रशासनिक विभाजनलाई क्षणभरमै अर्थहीन बनाइदियो। यसले फेरि एकपटक प्रमाणित गर्‍यो—हिमालय साझा छ, नदी साझा छन् र विपद्को जोखिम पनि साझा छ।IMG-20260830-WA0000यस विपद्को पृष्ठभूमिमा नेपाल र चीनबीचको सम्बन्धलाई  कूटनीतिक औपचारिकता वा आर्थिक साझेदारीका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। हिमालयले जोडेको नेपाल–चीन सम्बन्ध सदियौँ पुरानो सामाजिक, सांस्कृतिक र व्यापारिक सम्पर्कमा आधारित छ। केरुङ–रसुवा नाका त्यस ऐतिहासिक सम्बन्धको आधुनिक अभिव्यक्ति हो। तर पछिल्लो प्राकृतिक विपद्ले यस सम्बन्धमा अर्को महत्वपूर्ण आयाम थपेको छ—विपद्को समयमा मानवीय सहकार्य र पारस्परिक सुरक्षा हुन ।

रसुवामा आएको विपद्का बेला चीन सरकार तथा चिनियाँ पक्षबाट प्राप्त सहयोग, खोज तथा उद्धारमा देखाइएको तत्परता र आवश्यक सामग्री तथा प्राविधिक सहयोगप्रति नेपालमा सकारात्मक अनुभूति हुनु स्वाभाविक हो। विपद्को समयमा छिमेकीले देखाउने सहयोगको वास्तविक मूल्य त्यसको आर्थिक परिमाणभन्दा पनि त्यसले संकटमा परेका नागरिकलाई दिने आशा, सुरक्षा र भरोसामा मापन हुन्छ। यस दृष्टिले चिनियाँ सहयोग प्रशंसनीय छ।

तर यो घटनालाई केवल तत्कालीन राहत र उद्धारको दृष्टिले मात्र हेर्नु हुँदैन। हिमालय क्षेत्रमा जलवायु परिवर्तन, हिमनदी पग्लिने क्रम, हिमताल विस्तार, पहिरो, आकस्मिक बाढी र हिमपहिरोका जोखिम बढ्दै जाँदा नेपाल–चीन सीमावर्ती क्षेत्रमा विपद् व्यवस्थापन दीर्घकालीन सहकार्यको विषय बन्न आवश्यक छ। एउटा देशको भूभागमा उत्पन्न भएको जोखिम अर्को देशको नदी प्रणाली, सडक, बस्ती वा सीमावर्ती संरचनामा केही घण्टामै पुग्न सक्छ। त्यसैले परम्परागत ‘देशभित्रको विपद् व्यवस्थापन’ को अवधारणाभन्दा माथि उठेर सीमापार विपद् व्यवस्थापन प्रणाली विकास गर्नुपर्ने आवश्यकता देखिएको छ।

यसका लागि नेपाल र चीनबीच हिमताल, हिमनदी, वर्षा, नदीको बहाव र पहिरोको जोखिमसम्बन्धी वास्तविक समयको सूचना आदानप्रदान गर्ने संयन्त्र आवश्यक छ। सीमावर्ती क्षेत्रमा संयुक्त वा समन्वित पूर्वसूचना प्रणाली, स्वचालित मौसम तथा जलमापन केन्द्र, जोखिम नक्साङ्कन, आपत्कालीन सञ्चार प्रणाली र संयुक्त उद्धार अभ्यास सञ्चालन गर्न सकिन्छ। विपद्का बेला सडक वा सञ्चार सम्पर्क विच्छेद हुँदा वैकल्पिक उद्धार मार्ग र मानवीय सहायता केन्द्र पहिल्यै पहिचान गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

यहीँबाट चीनसँगको सम्बन्धको अर्को सम्भावना देखिन्छ। चीनसँगको सहकार्यलाई  सडक, सुरुङ, व्यापार र पूर्वाधार निर्माणमा सीमित नराखी हिमालय विपद् प्रतिरोधात्मक पूर्वाधार निर्माणतर्फ विस्तार गर्न सकिन्छ। रसुवा, तातोपानी र अन्य हिमाली सीमा क्षेत्रमा भूकम्प, बाढी, पहिरो तथा हिमताल विस्फोटलाई ध्यानमा राखेर सुरक्षित पुल, सडक, उद्धार केन्द्र, सञ्चार संरचना र आपत्कालीन भण्डारण प्रणाली विकास गर्न सकिएमा यसले नेपालका साथै सम्पूर्ण हिमालय क्षेत्रको सुरक्षा बलियो बनाउन सक्छ।

तर सहकार्यको अर्थ निर्भरता भने होइन। नेपालले चीनबाट प्राप्त सहयोगलाई आफ्नो राष्ट्रिय क्षमता निर्माणसँग जोड्नुपर्छ। प्राविधिक सहयोगसँगै नेपाली जनशक्तिको तालिम, अनुसन्धान क्षमता, स्थानीय सरकारको तयारी, उद्धार संयन्त्र र वैज्ञानिक पूर्वानुमान प्रणाली सुदृढ गर्न आवश्यक छ। भारत, चीन र अन्य अन्तर्राष्ट्रिय साझेदारबीच हिमालय तथा सीमापार नदी प्रणालीसम्बन्धी संवादलाई समेत संस्थागत गर्न सकिएमा विपद् व्यवस्थापन अझ प्रभावकारी बन्न सक्छ।

रसुवाको महाप्रलयले एउटा कठोर सत्य उजागर गरेको छ—प्रकृतिले सीमाना मान्दैन। त्यसैले विपद्को सामना पनि सीमित राष्ट्रिय सोचबाट सम्भव हुँदैन। आज रसुवामा देखिएको संकट भोलि तिब्बत वा भारतको सीमावर्ती क्षेत्रमा अर्को रूपमा प्रकट हुन सक्छ। यही साझा जोखिमले नेपाल, चीन र भारतलाई प्रतिस्पर्धाभन्दा माथि उठेर मानवीय सुरक्षाका साझा मुद्दामा सहकार्य गर्ने अवसर पनि दिएको छ।

अन्ततः रसुवाको विपद्ले नेपाल–चीन सम्बन्धलाई नयाँ दृष्टिले हेर्ने आधार दिएको छ। इतिहासले जोडेको सम्बन्धलाई अब विपद्को समयमा देखिएको मानवीय सहकार्य र भविष्यको साझा जोखिम व्यवस्थापनले अझ गहिरो बनाउन सक्छ। छिमेकी हुनुको वास्तविक अर्थ सुखका दिनमा व्यापार गर्नु मात्र होइन, संकटका क्षणमा एकअर्काको हात समात्नु पनि हो।

रसुवाको बाढी र महाप्रलयले छोडेको पीडा दीर्घकालसम्म स्मरणीय रहनेछ। तर त्यस पीडाबाट यदि नेपालले सुरक्षित हिमालय, सक्षम विपद् व्यवस्थापन र विश्वसनीय छिमेकी सहकार्यको नयाँ अध्याय निर्माण गर्न सक्यो भने, यो विपद् केवल विनाशको कथा रहने छैन—यो भविष्यको तयारी र मानवीय एकताको एउटा महत्वपूर्ण मोड बन्नेछ।