काठमाडौं / रसुवाको टिमुरे भन्सार क्षेत्रमा आएको भीषण बाढीले ३०० भन्दा बढी सवारीसाधन बगाएको छ।

भन्सार यार्डमा जाँचका लागि राखिएका ट्रक तथा अन्य सवारीसाधन बाढीको भेलमा परेका हुन्। बाढिले रसुवा भन्सारका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानाका अनुसार यार्डमा रहेका ३०० भन्दा बढी गाडी बगेका छन्।  बाढिले भन्सार कार्यालयका संरचना तथा अन्य सामग्रीमा समेत क्षति पुर्‍याएको छ। तर कुल आर्थिक क्षतिको यकिन विवरण भने अझै संकलन हुन सकेको छैन।

सवारीसाधन बगेपछि व्यवसायीहरूले आफ्ना गाडी तथा मालसामानको अवस्था पहिचान गर्ने र क्षतिको विवरण संकलन गर्ने काम थालेका छन्। बाढीका कारण घटनास्थलमा पुगेर विवरण संकलन गर्नसमेत कठिनाइ भइरहेको छ। उता भन्सार कार्यालयका पाँच कर्मचारी अझै सम्पर्कविहीन रहेको अर्थ मन्त्रालयले जनाएको छ। प्रमुख भन्सार प्रशासकसहित २५ जना कर्मचारी भने सम्पर्कमा आएका छन्।

टिमुरेमा बाढीले गाडी मात्र बगाएको छैन— भन्सारको कारोबार, व्यवसायीको लगानी र सीमापार व्यापारसँग जोडिएको महत्वपूर्ण पूर्वाधारसमेत एकैपटक प्रभावित भएको छ। अब बाढीको पानी घटेसँगै टिमुरे भन्सारले कति गाडी गुमायो र व्यवसायीको कति रकम डुब्यो भन्ने वास्तविक हिसाब निकाल्नुपर्ने अवस्था आएको छ।