काठमाडौं / नेपालमा बाढीको जोखिमबारे पूर्वसूचना प्रणालीबाट चेतावनी जारी भइरहेकै बेला रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीले ठूलो विनाश गर्यो।
तर बाढीको बहाव दक्षिणतर्फ बढेर भारतसम्म पुग्ने सम्भावना देखिएपछि भने भारतीय प्रशासनले तत्काल उच्च सतर्कता अपनाउँदै तयारी तीव्र पारेको छ। नेपालको जल तथा मौसम विज्ञान विभागले बाढीको जोखिमबारे नियमित सूचना र चेतावनी जारी गर्दै आएको छ। विभागकै प्रणालीमा बाढी अनुगमन तथा पूर्वसूचना संयन्त्र सञ्चालनमा रहेको छ।
तर प्रश्न यहीँबाट सुरु हुन्छ— पूर्वसूचना थियो भने नेपालमा त्यसअनुसार पूर्वतयारी कति भयो ? बाढी आएपछि नेपाली नागरिक उद्धारका लागि हात उठाइरहेका छन्। सडक, पुल, सञ्चार र विद्युत् संरचना भत्किएका छन्। माथिल्लो रसुवामा सम्पर्कविहीन नागरिकको खोजीसमेत चुनौतीपूर्ण बनेको छ। उता यही बाढीको बहाव भारततर्फ पुग्ने सम्भावना देखिएपछि उत्तर प्रदेश र बिहारमा उच्च सतर्कता अपनाइएको छ।
गण्डक नदी आसपासका क्षेत्रमा सम्भावित जोखिम सामना गर्न आवश्यक तयारी गर्न प्रशासनलाई निर्देशन दिइएको छ।बिहारमा त गण्डक किनारका संवेदनशील क्षेत्रमा राष्ट्रिय तथा राज्य विपद् प्रतिक्रिया बलको परिचालनसमेत बढाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अर्थात्— नेपालमा जोखिमको सूचना थियो, तर तयारी पर्याप्त भयो कि भएन भन्ने प्रश्न। भारतमा सम्भावित जोखिमको सूचना पुग्यो, प्रशासन तत्काल सक्रिय।
यही अन्तरले अहिले नेपालको विपद् व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ। पूर्वसूचनाको अर्थ केवल मोबाइलमा सन्देश पठाउनु होइन। जोखिम क्षेत्र पहिचान गर्ने, नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्ने, सुरक्षाकर्मी र उद्धार टोली तयारी अवस्थामा राख्ने तथा आवश्यक साधन तत्काल परिचालन गर्ने काम पनि पूर्वसूचनाकै हिस्सा हो। भोटेकोशीको बाढीले अब सरकारलाई यही प्रश्नको जवाफ दिनुपर्ने अवस्थामा पुर्याएको छ— ‘सूचना थियो भने तयारी कहाँ थियो ?’
भारतका लागि भने यही घटनाले अर्को पाठ दिएको छ—नेपालबाट आउने नदीको पानी आफ्नै सीमाभित्र पुगेपछि होइन, माथिल्लो जलाधारमै जोखिम देखिनासाथ तयारी सुरु गर्नुपर्ने। अब नेपालको परीक्षा उद्धारमा मात्र छैन। पूर्वसूचना र पूर्वतयारीबीचको दूरी कति घटाउन सकिन्छ भन्नेमा पनि छ। किनकि बाढीको पानी सीमाना हेरेर रोकिन्न। तर विपद्को सूचना पाएपछि सरकारको तयारी भने समयमै सुरु हुन सक्छ।






































