काठमाडौंं / नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवाको टिमुरेमा चीनको तिब्बती भू–भागबाट आएको बाढीले मालवाहक सवारीसाधन, यातायात व्यवसायी तथा मजदुरहरू प्रभावित भएको जनाएको छ ।

महासंघका अनुसार बाढीले टिमुरे भन्सार यार्डमा रहेका मालवाहक सवारीसाधन बगाएको छ भने बेत्रावती क्षेत्रमा पार्किङ गरिएका मालवाहक सवारीसाधनमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । महासंघअन्तर्गतका सदस्य संस्थामा आबद्ध केही सवारीसाधन व्यवसायी तथा मजदुरहरू सम्पर्कविहीन रहेको भन्दै महासंघले सम्बन्धित संस्थासँग सम्पर्कमा रहन तथा सुरक्षा निकायको सम्पर्कमा जान आग्रह गरेको छ ।

बाढीको जोखिम अझै कायम रहेकाले नदी किनार तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न महासंघले यातायात व्यवसायी, मजदुर तथा सर्वसाधारणलाई अनुरोध गरेको छ । महासंघले विपद्को यस घडीमा उद्धार तथा जोखिम न्यूनीकरण कार्यमा आ–आफ्नो स्थानबाट सहयोग गर्नसमेत सबैमा अपिल गरेको छ ।