काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा फेरि बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा रहेका नागरिक र उद्धारमा खटिएका सुरक्षाकर्मीलाई अत्यन्त सतर्क रहन आग्रह गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका एक अधिकारीका अनुसार चिनियाँ पक्षबाट भोटेकोशीमा पुनः बाढी आउन सक्ने सूचना आएको हो। चिनियाँ पक्षले दिएको जानकारीअनुसार बाढी आएको क्षेत्रमा पानी थुनिएर बनेको करिब सात मिटर अग्लो अस्थायी बाँध अझै रहेको र जुनसुकै बेला फुट्न सक्ने जोखिम छ।
त्यस्तो बाँध फुटेमा पुनः ठूलो मात्रामा पानी नेपालतर्फ आउने सम्भावना रहेकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा नजान आग्रह गरिएको छ। विशेषगरी अहिले उद्धार, खोज तथा राहतमा खटिएका सुरक्षाकर्मी र स्वयंसेवकलाई समेत थप सावधानी अपनाउन भनिएको छ।
यसअघि आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा ठूलो क्षति पुर्याइसकेको छ। बाढी त्रिशूली नदी हुँदै नुवाकोट, धादिङ र चितवनतर्फ समेत पुगेको छ।अब बाढीको पानी घट्दै गयो भनेर नदी किनारमा फर्किने वा क्षतिग्रस्त क्षेत्रमा प्रवेश गर्ने जोखिमपूर्ण हुनसक्ने देखिएको छ। त्यसैले प्रशासनले जारी गर्ने सूचना पालना गर्दै सुरक्षित स्थानमै रहनुपर्ने अवस्था छ।
सम्बन्धित निकायले सम्भावित दोस्रो बाढीको जोखिमलाई ध्यानमा राखेर उद्धार टोली, सुरक्षाकर्मी तथा तटीय बस्तीमा रहेका नागरिकलाई उच्च सतर्कतामा राख्नुपर्ने देखिएको छ।


































