काठमाण्डौं / रसुवाको बाढीमा फसेका नागरिकले टाढाबाटै उद्धारका लागि हात उठाइरहेको दृश्य क्यामेरामा कैद भएको छ।
कालिकास्थानबाट गोरखापत्रका पत्रकार केशव न्यौपानेले क्यामेरा जुम गर्दा बाढी प्रभावितहरू उद्धारको याचना गरिरहेका देखिएको बताएका छन्। राज्यसँग हेलिकप्टर छन्, सुरक्षा संयन्त्र छन्, उद्धारको जिम्मेवारी बोकेको सरकार छ—तर प्रश्न उठेको छ, विपद्मा फसेका ती नागरिकसम्म सरकारी हेलिकप्टर कति छिटो पुग्यो ?
नेपालमा सामान्य अवस्थामा समेत विशिष्ट व्यक्ति तथा मन्त्रीको आवतजावतका लागि राज्यका हेलिकप्टर तत्काल परिचालन हुने गरेका उदाहरण छन्। भाइरल ज्वरोका कारण बिरामी परेका मन्त्रीलाई लिनसमेत सरकारी संयन्त्र सक्रिय भएको घटनाले केही समयअघि चर्चा पाएको थियो। सुनिल लम्साललाई लिन हेलिकप्टर गएको उक्त प्रसंगले अहिले रसुवाको बाढीमा अर्को प्रश्न जन्माएको छ।
मन्त्री बिरामी पर्दा हेलिकप्टर पुग्न सक्ने राज्यको हवाई संयन्त्र, बाढीमा जीवन–मरणको दोसाँधमा रहेका नागरिकसम्म पुग्न कति समय लगाउँछ ?
यो प्रश्न कुनै मन्त्री वा व्यक्तिविशेषप्रति लक्षित होइन।
यो प्रश्न राज्यको प्राथमिकताप्रति हो।
मन्त्रीका लागि तत्काल, नागरिकका लागि प्रतीक्षा ?
विपद्को समयमा सडकमार्ग अवरुद्ध हुन्छ।
सञ्चार सम्पर्क टुट्छ।
उद्धार टोली स्थलमार्गबाट पुग्न सक्दैन।
यस्तो अवस्थामा हेलिकप्टर नै नागरिकको जीवन बचाउने सबैभन्दा महत्वपूर्ण माध्यम बन्न सक्छ।
रसुवामा अहिले यही अवस्था छ।
बाढीले टिमुरे, रसुवागढी, स्याफ्रुबेँसीलगायत क्षेत्रलाई प्रभावित बनाएको छ। सुरक्षाकर्मी तथा सरकारी कर्मचारीसमेत सम्पर्कविहीन छन्। सडक र सञ्चार संरचनामा क्षति पुगेपछि माथिल्लो क्षेत्रमा फसेका नागरिकको अवस्था बुझ्नसमेत कठिन भएको छ।
यहीबीच क्यामेरामा देखिन्छ— बाढीको बीचबाट उठिरहेका हात।
ती हातले सरकारसँग भाषण मागेका होइनन्।
उद्धार मागेका हुन्।
हेलिकप्टर छन्, प्रश्न परिचालनको हो ।
सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार संयन्त्र परिचालन गरेको छ। सेनाका हेलिकप्टरबाट प्रभावित नागरिकको उद्धार पनि भइरहेको छ।
तर प्रश्न बाँकी छ— विपद्को सुरुवाती घडीमै जोखिममा रहेका सबै स्थानको पहिचान भयो कि भएन ?
हेलिकप्टर कुन आधारमा पठाइयो ?
सबैभन्दा जोखिममा रहेका नागरिकलाई प्राथमिकता दिइयो कि दिइएन ?
उद्धार मागिरहेका मानिससम्म पुग्न कति समय लाग्यो ?
र—
राज्यसँग भएको हवाई स्रोत संकटको पहिलो घडीमै पूर्ण क्षमतामा परिचालन भयो कि भएन ?
सुनिल लम्सालको घटनाले उठाएको तुलना केही समयअघि भाइरल ज्वरोका कारण बिरामी परेका मन्त्रीलाई उपचार तथा स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको घटनाले राज्यको आपत्कालीन हवाई पहुँच कति छिटो सक्रिय हुन सक्छ भन्ने बहस जन्माएको थियो। आज त्यही राज्यको हेलिकप्टरको अर्को परीक्षा छ।
एक जना मन्त्री बिरामी हुँदा समयमै पुग्ने हवाई संयन्त्र, दर्जनौँ नागरिकको ज्यान जोखिममा हुँदा कति छिटो पुग्छ ? यही तुलना अहिले सामाजिक बहसको विषय बन्न सक्छ। तर यसको उत्तर भावनाबाट होइन हेलिकप्टरको उडान विवरण, परिचालन आदेश, उद्धारको समय र प्रभावित क्षेत्रको तथ्यांकबाट खोजिनुपर्छ। क्यामेराले देखायो, अब राज्यले जवाफ दिनुपर्छ।रसुवामा उद्धार मागिरहेका हात देखिएका छन्। अब ती हातसम्म राज्यको हेलिकप्टर पुगेको समय पनि सार्वजनिक हुनुपर्छ।
कुन ठाउँबाट कति नागरिक उद्धार भए ?
कति हेलिकप्टर परिचालित भए ?
कुन ठाउँमा उद्धार ढिलो भयो ?
कुन नागरिक अझै फसेका छन् रु
यी प्रश्नको जवाफ सार्वजनिक हुनु आवश्यक छ।
किनकि— मन्त्रीलाई लिन हेलिकप्टर पुग्नु राज्यको क्षमता हो।
तर विपद्मा फसेका नागरिकलाई समयमै बचाउन हेलिकप्टर पुग्नु राज्यको जिम्मेवारी हो। रसुवाको आकाशमा अहिले हेलिकप्टर उडिरहेका छन्।
तर नागरिकले खोजिरहेको प्रश्न एउटै छ—
‘भाइरल ज्वरोका बिरामी मन्त्री लिन समयमै पुग्ने हेलिकप्टर, बाढीमा उद्धार मागिरहेका नागरिक लिनचाहिँ कहाँ पुग्यो रु’




































