काठमाडौं / एनएमबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबी सरल बचत फण्ड–ई ले आर्थिक वर्ष २०८२ र ८३ का लागि आफ्ना इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।
वितरण गरिने प्रतिफलमा लागू हुने करसमेत समावेश रहेको योजना व्यवस्थापक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ।कम्पनीका अनुसार साउन २१ गतेसम्म कायम रहेका इकाइधनीले उक्त प्रतिफल प्राप्त गर्नेछन्। प्रतिफल वितरण प्रयोजनका लागि फण्डले साउन २१ गते एक दिन बुक क्लोज गरेको थियो। फण्डले आर्थिक वर्ष २०८२ र ८३ को कायम इकाइ पुँजीका आधारमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
प्रतिफल रकम सम्बन्धित इकाइधनीको हितग्राही (डिम्याट) खातासँग आबद्ध बैंक खातामा जम्मा गरिने जनाइएको छ।डिभिडेन्ड रिइन्भेष्टमेन्ट प्लान (डीआरपी्) मा सहभागी इकाइधनीका हकमा भने कानुनबमोजिम कर कट्टीपछि बाँकी रकमबाट थप इकाइ खरिद गरिनेछ। खरिद गरिएका थप इकाइ सम्बन्धित हितग्राही खातामा स्वतः प्रतिबिम्बित हुने व्यवस्था गरिएको फण्डले जनाएको छ।
यसैबीच, हितग्राही खातामा बैंक खाता विवरण अद्यावधिक नगरेका इकाइधनीलाई यथाशीघ्र विवरण अद्यावधिक गर्न फण्डले आग्रह गरेको छ। बैंक खाता विवरण अद्यावधिक भएपछि मात्र प्रतिफल वितरण प्रक्रिया सहज हुने कम्पनीको भनाइ छ।






































