काठमाडौं। सप्तरीमा डुबानको समस्या चर्किएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्। पानी निकासको व्यवस्था नहुँदा बस्ती र खेतीयोग्य जमिन डुबानमा परेपछि उनीहरूले हुलाकी सडक अवरुद्ध गर्दै तत्काल समाधानको माग गरेका छन्। सप्तरीको बोदेबरसाईन नगरपालिका–५ अन्तर्गत पर्ने राजविराज–बलान हुलाकी सडक खण्ड स्थानीयले अवरुद्ध गरेका हुन्।

स्थानीयका अनुसार हुलाकी सडकको कल्भर्टमा पानीको निकास अवरुद्ध हुँदा करिब १० घर र ७ विघाभन्दा बढी खेतीयोग्य जमिन १५ दिनदेखि डुबानमा परेको छ। पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर सडक अवरुद्ध गर्नुपरेको स्थानीयको भनाइ छ।

सडक बन्द भएपछि राजविराज–बलान खण्डमा सवारी आवागमन प्रभावित भएको छ। स्थानीयले पानी निकासको स्थायी समाधान नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

डुबानले जनजीवन प्रभावित भइरहेका बेला स्थानीयको आन्दोलनले हुलाकी सडकसमेत ठप्प बनेको छ। सम्बन्धित निकायले समस्या समाधानका लागि कति छिटो पहल गर्छ भन्नेमा स्थानीयको ध्यान केन्द्रित भएको छ।