काठमाडौं । वैदेशिक रोजगार विभागले कानुनी अनुमति बिना भारतीय विमानस्थल हुँदै नेपाली श्रमिक विदेश पठाउने १५९ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ। विभागका अनुसार ती कम्पनीहरूले वैदेशिक रोजगार ऐनविपरीत विभागको स्वीकृतिबिनै भारतका विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पाइएपछि पहिलो चरणमा सचेत गराइएको हो।

यस्तै, विभागले माग गरेको उडान विवरण नबुझाउने ४३९ म्यानपावर कम्पनीलाई पनि चेतावनी दिँदै तत्काल विवरण पेश गर्न निर्देशन दिएको छ।यसैबीच, नियम बारम्बार उल्लंघन गर्ने आठ म्यानपावर कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना समेत गरिएको विभागले जनाएको छ।

विभागले अबदेखि कानुन उल्लंघन दोहोरिए झन् कडा कारबाही हुने स्पष्ट गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई स्वदेशी विमानस्थल प्रयोग गर्ने कानुनी व्यवस्था अनिवार्य रूपमा पालना गर्न सबै म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ।