काठमाडौं— विगत केही दिनदेखि काठमाडौं उपत्यकामा गर्मी बढेको छ । केही स्थानमा निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेको छ भने देशका केही स्थानमा पानी पर्ने सम्भावना समेत छ ।
यसै सन्दर्भमा नेपाल न्यूज बैंकले वरिष्ठ मौसमविद् विभूति पोखरेलसँग गरेको कुराकानीमा उनले नेपालमा हाल पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखा पूर्वी क्षेत्रको नजिक रहेका बताएकी छन् ।
उनले बिस्तारै मध्य भागमा वर्षा रोकिने र अत्यधिक गर्मी तथा तापक्रम बढ्ने जानकारी दिइन् । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागहरूमा तातो दिनको अवस्था रहेकाले पूर्वतयारी अवस्थामा रहनुपर्ने उनको सुझाव छ ।
हालको अवस्थालाई निरन्तर निगरानी गरिँदै छ र उनले अझै दुई-तीन दिन लगातार यस्तै देखिएमा बेलुकासम्म ‘तातो लहर’ को अवस्था आएको हो भनेर पुष्टि गर्नुपर्ने जानकारी दिइन् ।
उनका अनुसार देशका धेरै स्थानहरूमा सरदरभन्दा कम वर्षा हुने देखिएको छ । ‘सरदरभन्दा कम वर्षा हुँदैमा बाढी पहिरो नआउने भन्ने हुँदैन । लामो समय खडेरी हुने र एकैचोटी भारी वर्षा हुने अवस्था रहँदा बाढी पहिरोको जोखिम उत्तिकै रहन्छ जसका लागि पूर्वतयारी गर्नुपर्ने हुन्छ,’ उनले भनिन् ।
गण्डकी प्रदेशमा बाढी पहिरोको जोखिमको विषय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरमा) बाट जानकारी आएको बताइन् । तर वर्षा सरदर भन्दा कम देखिएको उनले बताइन् ।
पछिल्लो समय नेपालमा मौसम पूर्वानुमानमा प्रविधिको व्यापक प्रयोग हुने गरेकाले जानकारी गराउन सहज भएको बताइन् । ‘विगतको तुलनामा हाल पूर्वानुमान धेरै मिल्नुको मुख्य कारण प्रविधिको प्रयोग हो । जति नयाँ प्रविधि अपनाउन सकियो, पूर्वानुमान त्यति नै सटिक (नजिक) हुनेछ,’ उनले भनिन् ।
चट्याङको पूर्वानुमानका लागि स्याटेलाइट र मौसमी प्रणाली कहाँबाट कहाँ जाँदैछ र कस्तो खालको प्रणाली हो त्यसलाई आधार मानेर पूर्वानुमान गरिने उनले बताइन् ।
उनले बाढीको पूर्वानुमानको लागि छुट्टै नयाँ ‘फ्लड फोरकास्टिङ मोडल’ बाढी पूर्वानुमान मोडेल प्रयोग गर्ने गरिएको उनले जानकारी दिइन् ।
उनले मौसम पूर्वानुमानको लागि आफ्नै तीन दिने मोडलहरू र (संख्यात्मक मौसम भविष्यवाणी) जस्ता उपलब्ध प्रविधिहरू चलाइएको उल्लेख गरिन् ।
देशभर फैलिएको ‘हाइड्रो-मेटियोरोलोजिकल सञ्जाल’ (जल-मौसम सञ्जाल) मार्फत मौसम सम्बन्धी तथ्याङ्कहरू संकलन गर्ने गरिएको बताइन् ।
उच्च हिमाली भूभागमा यो सञ्जाल केही कम भए पनि देशभरिका विभिन्न स्टेसनहरूबाट प्राप्त अब्जर्भेसन, डिजिटल मोडलहरू र पछिल्लो स्याटेलाइट तथ्याङ्कलाई आधार मानेर दैनिक मौसम पूर्वानुमान गर्ने जानकारी दिइन् ।






































