एजेन्शी । इरान ले संयुक्त अरब इमिरेट्सलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा एक नेपाली नागरिकसहित तीन जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालय ले आइतबार जारी गरेको प्रतिवेदनअनुसार नेपाल, पाकिस्तान र बंगलादेशका एक/एक जना विदेशी नागरिकको ज्यान गएको हो।
यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री ले एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि गर्दै मृतकको पहिचान खुलाउन प्रयास भइरहेको बताए। “सरकारी जानकारी अनुसार एक नेपाली नागरिकको मृत्यु भएको छ। हामी उहाँको परिचयबारे थप बुझ्दैछौँ,” उनले बताएका छन्।
रक्षा मन्त्रालयका अनुसार इरानले हालसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल, दुई वटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन प्रहार गरेको छ। यूएईको शक्तिशाली हवाई प्रतिरक्षा प्रणालीले अधिकांश मिसाइल र ड्रोनलाई आकाशमै नष्ट गरेको जनाएको छ। यद्यपि ३५ वटा ड्रोन मुलुकका विभिन्न स्थानमा खसेका थिए, जसमध्ये २१ वटाले नागरिक बस्ती र भौतिक संरचनालाई क्षति पुर्याएको बताइएको छ।
आक्रमणका क्रममा नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तानलगायत १५ देशका ५८ जना नागरिक सामान्य घाइते भएका छन्। मन्त्रालयले घाइतेहरूको अवस्था खतरामुक्त रहेको र उपचार भइरहेको जनाएको छ।
मध्यपूर्वमा चुलिँदो तनावका बीच भएको यस घटनाले खाडी क्षेत्रमा कार्यरत नेपाली समुदायमा चिन्ता बढाएको छ। नेपाल सरकारले यूएईस्थित दूतावासमार्फत घटनाको निगरानी गरिरहेको जनाएको छ।






































