कास्की – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कास्की जिल्लामा शुक्रबार रातिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्म मदिराजन्य पदार्थको बिक्री, वितरण, ओसारपसार तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि उक्त निर्णय कार्यान्वयनमा आएको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार स्वच्छ, निष्पक्ष, मर्यादित, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८, निर्वाचन आयोगको विज्ञप्ति तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मदिरा निषेध गरिएको हो।
“शुक्रबार राति १२ बजेदेखि निर्वाचनको अन्तिम नतिजा घोषणा नभएसम्म जिल्लाभर मदिराजन्य पदार्थको बिक्री–वितरण, ओसारपसार र सेवनमा रोक लगाइएको छ,” लम्सालले जानकारी दिनुभयो।
प्रशासनले निर्वाचन अवधिभर सार्वजनिक शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम राख्न होटल तथा मदिरा व्यवसायी, राजनीतिक दल, उम्मेदवार, तिनका प्रतिनिधि तथा सर्वसाधारण सबैलाई सहयोग गर्न आग्रह गरेको छ। सूचनाको प्रभावकारी कार्यान्वयनका लागि सुरक्षा निकायबाट कडाइका साथ अनुगमन गरिने र उल्लङ्घन गर्नेविरुद्ध प्रचलित कानुनअनुसार कारबाही गरिने जनाइएको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कास्कीमा तीन लाख आठ हजार पाँच सय ७२ मतदाता कायम छन्। जिल्लाभर एक सय ५३ मतदान स्थल र तीन सय ६३ मतदान केन्द्र निर्धारण गरिएको छ।

































