काठमाडौं –  नेपालको सशस्त्र बलको बाहिनी तह (डिआईजी स्तर) र भारतीय सशस्त्र बलबीच समन्वय बैठक भारतको उत्तराखण्डस्थित चम्पावतमा सम्पन्न भएको छ।

सशस्त्र प्रहरी बल, नेपालको नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाको तर्फबाट बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) विजय सुवेदीको नेतृत्वमा प्रतिनिधिमण्डल उक्त बैठकमा सहभागी भएको थियो।

बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रमा हुन सक्ने अवैध घुसपैठ, चोरी–तस्करी, अवैध निकासी तथा लागूऔषध ओसारपसार नियन्त्रणका विषयमा विस्तृत छलफल गरिएको थियो।

त्यस्तै, निर्वाचन अवधिमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरूको व्यवस्थापन, संयुक्त तथा समानान्तर सीमा गस्ती सुदृढीकरण, र सीमा क्षेत्रमा रहेका सुरक्षा संरचना मर्मत तथा सुदृढ पार्ने विषयमा पनि दुवै पक्षबीच सहमति र समझदारी भएको जनाइएको छ।